खुसीयाली बाँडेको छ कास्कीको टेनिसले

पोखरा स्पोर्टस । अंग्रेजी नयाँ वर्ष सुरु भएको ठ्याक्कै ६ महिना भयो । यो आधा वर्षमा कास्कीको टेनिसले खुसीयाली बाँडेको छ । कास्कीको टेनिसमा धेरै पसिना बगेर बगाएर पनि होला पछिल्ला दिनमा कास्कीको टेनिसको प्रगतीले यति लोभ्याएको छ की धेरैले भन्ने गरेका छन्–“कास्की टेनिसको आफ्नै दुनियाँ रहेछ ।”

हुन पनि हो कास्की टेनिसले वितेका ६ महिनामा पछाडी फर्किएर हेर्नु परेको छैन । निरन्तर प्रयास, प्रशिक्षण, मेहनत अनि कुनै पनि बेला पोखरा रंगशालाको टेनिसको खेल मैदान सुनसान नहुनु । चर्को गर्मी होस वा जाडो मौसम कोही न कोही खेलाडी निरन्तर अभ्यासमा हुन्छन् । त्यही अभ्यास र लगावले कास्की टेनिसको सफलताले सबैलाई एक पटक नतमस्तक बनाएको छ भने हातमा सफलता नै सफलता ।

कास्की टेनिसले यो ६ महिनाको सिजनमा खेलाडीहरुको जितमा खुसीयाली बाँडन सम्मान कार्यक्रम आयोजना गर्‍यो । १९ औं एसियाली खेलकुद पुरुषतर्फ छनौटमा परेका नेपालका नं १ खेलाडी प्रदिप खड्का र अभिषेक बाँस्तोला देखि ८ वर्ष मुनिका खेलाडीहरुलाई उनीहरुको सफलताका लागि बधाई दिन एक कार्यक्रम आयोजना गरेको छ । उनीहरु डेभिस कपका लागि समेत छनौटमा परेका खेलाडी हुन् । अमेरिकमा बसेर प्रशिक्षणमा व्यस्त अभिषेक विश्व वरियताका १९७० औं खेलाडीहुन । उनी अब थप प्रशिक्षण पछि नेपालमा बसेर नेपाली टेनिसको खेलमा व्यस्त हुन चाहेका छन् ।

कास्की टेनिसलाई सबै खेलाडीलाई एक ठाउँमा ल्याउन पनि धेरै कुर्नु पर्‍यो । किनभने कोही खेलमा व्यस्त थिए । कोही बैदेशिक खेलमा । कोही प्रशिक्षणमा । पछिल्लो छ महिनामा कस्केली टेनिस खेलाडीहरुले नेपाल भित्र सम्पन्न भएका आधा दर्जन भन्दा वढि खेलहरुमा उच्चत्तम सफलता प्राप्त गरे ।

नेपाल टेनिस संघको आयोजनामा भएका प्रतियोगिता देखि, काठमाण्डौमा सम्पन्न मण्डिखार जुनियर टेनिस, टिम टेनिस नेपाल प्रतियोगिता, नेपाल आर्मीले आयोजनामा सम्पन्न प्रधानसेनापती टेनिस प्रतियोगिता, बुटबलमा भएको प्रतियोगिता सर्वधिक पुरस्कार राशीको राइजिङ स्टार टेनिस, सिटिजन्स बैंक टेनिस, राष्ट्रिय जुनियर टेनिस लगयतका प्रतियोगिताहरुमा कास्की टेनिस खाली हात फर्किनु परेको छैन ।

कास्की टेनिसले सिनियर, जुनियर सबै खेलाडीलाई एक ठाउँमा भेला गराएर सम्मान गरेको कास्की टेनिसका सचिव नविन श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए । “हामीले हरेक प्रतियोगिताका विजेता र उपविजेताहरुलाई सम्मान गरेका छौं । यो सम्मानले ृउनीहरुलाई हौसला मिल्नेमा हामी विश्वस्त छौं, ”उनले भने ।

कास्की टेनिसको सफलतामा खेलाडीहरुको अथक मेहनतको परिणाम नै रहेको बताउँछन् कास्की टेनिसका संस्थापक अध्यक्ष बिनोद कायस्थ । उनी भन्छन्–“हामी अवचलित यात्रामा छौं । जुनियर खेलाडीबाटै भोलीका कर्णधार उत्पादन गर्ने देखि लिएर सिनियर खेलाडीहरुलाई अग्रज टेनिस खेलाडीहरु संग काँधमा काँध मिलाएर उनीहरुलाई हौसला दिंदै अघि बढ्दा हामीले यो सफलता पाएका छौं ।” उनले यसलाई जोगाई राख्न चुनौती समेत रहेको पोखरा स्पोर्टसलाई बताए ।

“हामीलाई यो ठाउँमा आउन एक दशक भन्दा वढि लाग्यो” कायस्थ भन्छन्–“हाम्रो यो खुसीयाली लाई कस्केली खेलप्रेमीहरु संग साझा गर्न चाहन्छौं र भन्छौं हजुरका बाबु नानीहरुलाई टेनिस सिक्न पोखरा रंगशाला पठाउनुहोस ।”

सिनियर खेलाडी बसन्त प्रधानदेखि जुनियर खेलाडी इभान भट्टराई सम्म एउटै थलोमा सम्मानित भए । सम्मानित हुनेहरुमा नेपाल टेनिस संघका उपाध्यक्ष समेत रहेका टेनिस खेलाडी विनोद कायस्थदेखि कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्ग पनि थिए । यति धेरै खेलाडी एउटै थलोमा सम्मानित भएको सम्भवत कास्की टेनिसकै इतिहाँसमा पहिलो पटक थियो । यि खेलाडीहरुले गत महिनादेखि देशका विभिन्न स्थानमा भएका विभिन्न प्रतियोगिताहरुमा पदक जितेका थिए । कास्की जिल्ला टेनिस संघका शुक्रबार यि खेलाडीहरुलाई टेनिस कोर्ट परिषरमै सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीहरुमा चाइनामा हुने एशियन गेम्सका लागि नेपालबाटै छानिएका अभिषेक बाँस्तोला र प्रदीप खड्का थिए । बाबु–छोरा गोपीबहादुर भट्टराई र श्रृजन भट्टराईले पनि राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा मेडल जिते । काठमाण्डौमा सम्पन्न राइजिङ्ग स्टार टेनिसमा अभिषेकले प्रथम तथा प्रदीपले द्वितिय स्थान हाँसिल गरेका थिए । नेहाल जंगबहादुर थापा, आषिश खड्का, अनिल शाहि, सौगात विक, इन्द्र गुरुङ्ग, माधब भण्डारी, शरण गुरुङ्ग, विकास गुरुङ्ग, राजु गुरुङ्ग, धरमबहादुर लामिछाने लगायत थिए ।

जुनियर खेलाडी आर्यशराज पौडेलले राइजिङ्ग स्टारमा स्वर्ण तथा रजत पदक जिते । जिवेश भट्टराई र जीवाश्री भट्टराईले पनि कास्कीलाई स्वर्ण दिलाए । त्यस्तै साल्भी शेरचनले पनि सोही प्रतियोगितामा स्वर्ण दिलाउँदै कास्कीको शिर उँचो पारिन् । स्पन्दन उदासले नेपालकै प्रतिनिधीत्व गर्दै बंगालादेशमा खेलेर आए । सास्वत बज्राचार्य, दर्शिल श्रेष्ठ, आहान भट्टराई, इलेश गौतम लगायतका खेलाडीहरुले पनि मेडल जित्दै यो ठाउँले गर्व गर्न लायक उपलब्धि हाँसिल गरे ।

पुरुष खेलाडीको उत्पादनमा कास्की टेनिस अग्रभागमा रहेपनि महिला खेलाडीहरुको हकमा कास्की केही कमजोर भने छ । आगामी दिनमा यसका लागि थप प्रशिक्षणका कार्यक्रमहरुमा ध्यान दिइने कास्की टेनिसले जनाएको छ ।

कास्की टेनिसको प्राङ्णमा भएको कार्यक्रमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलाडीहरुलाई सम्मान गरे । कार्यक्रम कास्की टेनिसका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close