चिनियाँ ड्रागन बोट रेस : प्रदेश खेलकुद परिषदलाई न जानकारी न निम्तो

पोखरा स्पोर्टस । पोखरामा आजबाट दुई दिने चिनियाँ ड्रागन बोट रेस फेवातालमा सुरु भएको छ ।

चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरु भएको हो । तर उक्त बोट रेसबारे प्रदेश खेलकुद परिषद गण्डकीलाई भने कुनै जानकारी छैन ।

प्रदेश भित्र कुनै पनि प्रतियोगिता आयोजना गर्दा प्रदेश खेलकुद परिषद गण्डकी खेलकुद विकास ऐन २०७७ को दफा ३७ को ३ बमोजिम प्रदेश खेलकुद संग पूर्व स्विकृती लिनुपर्ने व्यवस्था छ । तर आयोजकले भने कुनै जानकारी नगराएको परिषदले जनाएको छ ।

सो बारे जानकारी लिंदा परिषदका सदस्य सचिव श्रीधर शर्माले आयोजकहरुले कुनै जानकारी नदिएको बताउँदै प्रतियोगिताको भने पूर्ण सफलताको कामना गरे । उनले भने–“परिषद आफै प्रदेश भित्र रहेका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नेतर्फ अघि बढेको छ । अर्कोतर्फ पहिलो पटक नेपालमा नै यस प्रकारको कार्यक्रम आयोजना भइरहेको छ । हामी पनि खुसी छौं । चिनियाँ पाहुनालाई हामी पनि स्वागत गर्छौं । तर आयोजकको तर्फबाट हामीलाई जानकारी पनि छैन, निमन्त्रणा, छैन न त समन्वय नै ।”

”यो खेलकुद संगै पर्यटनका लागि महत्व राख्ने कार्यक्रम भएकोले परिषदलाई समेत जानकारी प्राप्त भएको भए हामी समेत त्यसका लागि संस्थागत रुपमा नै संगै हिड्ने थियौं । हामीले समाचार र पत्र पत्रिका मार्फत जानकारी त पायौं तर आधिकारिक रुपमा त्यस्तो केही आएन । हामी पनि यो कार्यक्रमको आयोजनाले निकै प्रफुल्लित छौं । आगामी वर्षहरुमा समेत यसलाई निरन्तरता दिनु पर्छ,” शर्माले भने । 

प्रदेशको खेलकुद आयोजना, विकास लगायत सबै गतिविधिमा परिषदको चासो समेत रहने र आगामी दिनमा यस प्रकारका कार्यक्रम आयोजना गर्न अझै सहजता हुने सदस्य सचिव शर्माले बताए । प्रदेश खेलकुद परिषद आफै परम्परागत खेलको संरक्षणमा लागेको हुनाले यस प्रकारका कार्यक्रमहरु आदान प्रदान गर्न आगामी दिनमा अझै सहज हुने उनको भनाई थियो ।

“हाम्रो प्रदेश मित्रराष्ट्र चिनको निकै नजिक पर्ने प्रदेश समेत हो । प्रदेशले चिनको भूभाग सडक मार्गले समेत छोएको छ । भोलीका दिनमा परम्परागत खेलहरु र सहशिक खेलकुद  संरक्षण तथा आयोजनाका लागि अझै थप कुराहरुलाई अगाडी बढाउन सहयोग समेत पुग्नेछ,” शर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close