
पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा ‘दोश्रो कास्की जिल्ला अन्तर पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिता २०८०’ बुधबारबाट सुरू भएको छ ।

पोखरा महानगरपालिका भलिबल संघको व्यवस्थापन तथा कास्की जिल्ला भलिबल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिता अन्तर्गत पहिलो दिन तिन खेलहरु सञ्चालन भएको पोखरा महानगर भलिबल संघका अध्यक्ष राम बहादुर लामिछानेले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा पोखरा महानगर ‘रातो’ मादी गाउँपालिका ‘ए’लाई सोझो २–० को सेटमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । त्यस्तै एक अर्को खेलमा मादी गाउँपालिका ‘ए’ले पोखरा महानगर पालिका ‘बि’ टिमलाई २–१ को सेटमा पाखा लगायो भने माछापुच्छ्रे गाउँपालिकाले मादी गाउँपालिका ‘बि’ लाई २–० को सोझो सेटमा पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका २, मादीका २, रुपाका २, पोखरा महानगरपालिकाको २ र माछापुच्छ्रे गाउँपालिकाको एक टिम गरी ९ टिमको सहभागिता रहेको अध्यक्ष लामिछानेले पोखरा स्पोर्टसलाई बताए ।
प्रतियोगितामा बिजेता हुने टिमले नगद रु ६० हजार, उपविजेताले नगद ५० हजार र तेश्रो हुने टिमले नगद ४० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यसै गरी उत्कृष्ट खेलाडीसहित उत्कृष्ट लिफ्टर, व्लकर, स्पाइकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद ५ हजारका साथमा ट्रफी प्रदान गरिने छ ।
पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा जेठ ३२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले गरेका थिए ।
उद्घाटन कार्यक्रम पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको थियो ।
