
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाली शारीरिक सुगठन संघ भित्र राजनिती भित्राएको आरोप नेप्लिज फेडेरेशन अफ बडिविल्डङ एण्ड फिटनेश (एनएफबिएफ)ले जनाएको छ ।
एनएफबिएफले पोखरामा मंगलबार एक पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका उपाध्यक्ष नुना गुरुङले हालै राजधानी लगायत देशभरका संघहरु गठन गर्दा समेत कुनै जानकारी नदिई एकलौटी रुपमा आफ्नो राजनितिक विचार बोक्ने व्यक्तिहरुलाई बोलाएर अधिवेशनको नाटक मञ्चन गरिएको बताए ।
“हाम्रो अन्तर्राष्ट्रिय मान्यता र नेपाल ओलम्पिक मान्यता प्राप्त महासंघ हौं ” उपाध्यक्ष गुरुङले भने–“हामी पनि नेपालमा एउटै महासंघ होस भन्ने चाहन्थ्यौं । तटस्थ बसेर कुरा मिलाउनु पर्ने राखेपले उल्टै राजिनिति गर्यो । यो नामका लागि गरिएको अधिवेशन हामीलाई मान्य छैन ।” एनएफबिएफले यो विषयमा छिट्टै कानुनी उपचारका लागि अघि बढ्ने उनले बताए ।
एउटै महासंघ निर्माणका लागि एनएफबिएफले आफ्ना सबै कुराहरु तिलाञ्जली दिंदै अघि बढेको बताउँदै उपाध्यक्ष गुरुङले पटक–पटकका छलफलमा समेत आफूहरुले मिलाएर महासंघ गठन गर्न सुझाव दिएको बताए । उनले भने–“मिलाएर अघि बढौं । खेलको विकास गरौं भन्यौं । तर हाम्रो आवाज दवाइयो । महासंघ गठनमा समेत राजधानी केन्द्रित गरियो । संघियताको धज्जी उडाइयो । जिल्ला संघ गठन हुँदा समेत कुनै पत्रचार गरिएन । एकिकरणमा हाम्रो कुनै स्वार्थ लुकेको थिएन”, उनले थपे–“अधिवेशनमा नै खोट देखियो । थाहा नै नदिई तदर्थ समिति बनायो राखेपले । यो भन्दा ठूलो घात अरु केही हुनै सक्दैन । न त यसले हाम्रो खेलको विकास हुन्छ ।”
एनएफबिएफले अब चाँडै नै एनओसी मार्फत समानन्तर महासंघ गठन गरेर अघि बढ्ने उपाध्यक्ष गुरुङले बताए । उनले मिलेर जाने हकमा यस अघि गठन भएका सवै जिल्ला र प्रदेश संघहरु विघटन गर्नु पर्ने बताए । उनले भने–“मिलेर जाने भन्ने हकमा एउटै सर्त हो । अधिवेशन गरिएका भनिएका जिल्ला संघ र प्रदेश संघ खारेज हुनु पर्छ ।”
यता केही दिन अघि सम्पन्न कास्कीको अधिवेशनलाई समेत जिल्ला खेलकुद विकास समिति कास्कीले मान्यता नदिने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै समितिका उपाध्यक्ष विजय बहादुर भण्डारीले जिल्ला संघ गठन गर्ने गरी बोलाए पनि बास्तविक विषय पछि थाहा पाएको बताए । उनले भने–“अधिवेशनका नाउँमा प्रपञ्च गरिएको रहेछ । राजनितिबाट लिप्त प्रपञ्चबाट रचिएको अधिवेशनलाई जिल्ला खेलकुदले मान्यता दिंदैन ।”
