
पोखरा स्पोर्टस । खेलकुदको विकास र सामाजिक अभियानमा क्रियाशिल टाइगर ग्रुप अफ पोखरा नेपाल र चरक मेमोरियल हस्पिटलले निशुल्क मुटु रोगको स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन् ।

यहि जेठ २७ गते देखि ३० गते सम्म उक्त शिविर पोखरास्थित चरक मेमोरियल अस्पतालमा सञ्चालन हुने भएको हो । सो बारे जानकारी दिंदै टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले खेलकुद अभियान संगै स्वास्थ्यका सवालमा समेत संस्थाले प्रभावकारी रुपमा जन–जनको स्वास्थ्यका बारे गम्भिर बन्दै यो शिविर सञ्चालन गरिएको बताए ।
उनले भने–“मुटु रोग जस्तो गम्भिर रोगलाई समयमा पत्ता लागोस र आफू कत्तिको स्वस्थ छु भन्ने विषय समेत जान्न र बुझ्न यो शिविरले भूमिका खेल्ने छ ।” पोखरा स्पोर्टस संग कुरा गर्दै अध्यक्ष शर्माले शिविरमा सबै परिक्षण हरु निशुल्क हुने भएकोले पनि सम्पूर्ण खेलाडी र सर्वसाधारणहरुले यसबाट लाभान्वित हुन आग्रह गरे ।
“हामी दैनिक व्यस्त जिवनमा छौं । खान पान, रहन सहन सबै विषयमा कमैले ध्यान दिने गरेका छन् । स्वास्थ जिवनशैली पहिलो शर्त हो । तर हामी यसमा चुकेका छौं”–“हामी चरक मेमोरियलको सहकार्यमा यो अभियानमा अघि बढेका छौं । म सबै गरिव निमुखा र विपन्न नागरिकहरुलाई यो कार्यक्रमबाट लाभ लिन आग्रह गर्दछु ।”
उक्त शिविरमा मनमोहन मुटु रोग अस्पताल काठमाण्डौका बरिष्ठ मुटु रोग विशेषज्ञ डा.सूर्य देवकोटाको सहभागिता रहने भएको छ । शिविरमा मुटु रोग लगायत १२ विभिन्न विभिन्न स्वास्थ्यका सम्वन्धमा परिक्षण गरिन लागिएको टाइगर ग्रुपका सचिव डिबी नेपालीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
