नवलपुरले जित्यो गण्डकी प्रदेशस्तरिय महिला फुटबलको उपाधि

पोखरा स्पोर्टस । नवलपुरले गण्डकी प्रदेशस्तरिय महिला फुटबलको उपाधि जितेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा नवलपुरमा बिहिबार भएको फाइनलमा बलियो मानिएको स्याङजालाई ५–१ गोलले पराजित गरी नवलपुरले उपाधि जितेको हो । कावासोती नगरपालिका १७ स्थित गोछडामा सम्पन्न प्रतियोगितामा उपाधि सहित नवलपुरले नगद ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसै गरी उपविजेता भएको स्याङजाले नगद ३० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको नवलपुर जिल्ला खेलकुदका अध्यक्ष सेत पुनले जानकारी दिए । यो जित संगै महिला फुटबलमा हावी हुँदै आएको स्याङजालाई फाइनलमा अप्रत्यासित रुपमा पराजित गरी नवपलुरमा माहिला फुटबलमा खेलाडी उत्पादनका लागि नयाँ ढोका समेत खुलेको छ ।

प्रतियोगितामा नवलपुरकी संगिता विक उत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगितामा सर्वाधिक गोल स्याङजाकी सुक्रिया मियाँ र सोनु परियारले समान ५–५ गोल गरे । उनीहरु सबैले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

फाइनल प्रतिस्पर्धामा सुक्रिया मियाँले स्याङजाका लागि गोलको खाता खोल्दै अग्रता दिए पनि नवलपुर अन्तिम समय सम्म हावी हुँदै खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो । खेलमा सोनु र संगिताले समान २–२ गोल गरे भने एक गोल स्याङजाले उपहार स्वरुप नवलपुरलाई दिएको थियो ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई मध्यविन्दुका मेयर भिमलाल अधिकारी, कावासोतीको उपमेयर फुल कुमारी थनेत, प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकालले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यहि जेठ २३ गते देखि २५ गते सम्म आयोजना भएको उक्त प्रतियोगितामा प्रदेशका ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा स्याङजा, तनहुँ, लमजुङ, गोर्खा, नवलपुर र बागलुङले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा दुई सेमिफाइनलिष्ट टिम तनहुँ र गोर्खा नगद १०–१० हजार हात पारेका छन् ।

समापन कार्यक्रम जिल्ला खेलकुदका अध्यक्ष सेत बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close