
पोखरा स्पोर्टस । बगरभाइ खलक यूकेका उपाध्यक्ष एवं तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङ बेलायतकालागि कास्की जिल्ला फुटबल संघको ब्रान्ड एम्बास्डरमा मनोनीत भएका छन् ।
गत आइतबार जून ४ तारिख अल्डरसटस्थित एम्पायर हलमा पोखरा ११ का खेलाडी, प्रशिक्षक र टिमलिडरलाई बिदाइ कार्यक्रममा उपाध्यक्ष गुरुङलाई कास्की फुटबल संघका अध्यक्ष उज्वल रंजितले मनोनयन–पत्र हस्तान्तरण गरेका हुन् । पोखरा–११ को टोली तमुधिं यूकेले २४ मे मा आयोजना गरेको २१औं गोर्खा कपमा सहभागि हुन यूके पुगेको थियो ।
मनोनयन पत्रमा भनिएको छ–‘श्री कमल गुरुङज्यूलाई यस संघको जस्तो गरिमामय पदमा मनोनयन गरेको व्यहोरा जानकारी गराउँदछौं, साथै यहाँको सदैव साथ सहयोग, सल्लाह र सुझावको अपेक्षा गर्दछौं ।’
कास्की फुटबल संघका अध्यक्ष उज्वल रन्जित, टिम कोअर्डिनेटर ईश्वर गुरुङसहित १३ खेलाडी गत जेठ ९ गते बेलायत पुगेको थियो । उक्त टोलीमा कास्की फुटबल संघका उपाध्यक्ष नरेन्द्र जङ्ग मुखिया गुरुङ, जमान सिंह दुरा, अभिषेक पिया, बिजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेकबहादुर गुरुङ र सचिन सहभागि थिए ।
कास्की फुटबल संघ केही वर्ष यता निकै खस्किएको अवस्थामा छ । यूवा खेलाडी उत्पादन लगायत जिल्लामा हुने फुटबल गतिविधिहरु समेत आयोजना हुन नसक्दा फुटबल प्रेमीहरुले समेत चिन्ता व्यक्त गर्न थालेका छन् । कास्की फुटबलले सञ्चालन गर्दै आएको ग्रसारुट फुटबलमा केही सक्रियता भए पनि महिला लगायत अन्य फुटबल विकासका गतिविधिहरु नहँदा कास्कीमा फुटबल खेलाडी उत्पादनमा समेत विगत भन्दा धेरै खस्किएको विश्लेषकहरुले भनाई छ ।
को हुन् कमल गुरुङ
कास्की फुटबल संघले यूकेमा पहिलो पटक गुरुङलाई व्रान्ड एम्वास्डरमा मनोनयन गरेको हो । उनी नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य समेत् हुन् । उनले विगतमा पोखरा स्पोर्टस अवार्डमा समेत सहयोग गर्दै आएका थिए । आफ्नो गाउँको विद्यालयको स्त्तरोन्नती लगायत अन्य सामाजिक अभियानमा व्यस्त गुरुङ फुटबल र ह्यान्डबलका पूर्व राष्ट्रिय खेलाडी समेत् हुन् ।पोखरा बगरमा हुर्केका कमल गुरुङ सानो उमेर बाटनै खेलकुदमा बढी रुचि राख्ने उनी गण्डकी बोडिङ्ग स्कुलमा अध्ययन गर्ने क्रममा विभिन्न खेलकुदमा सहभागि हुँदै सफलता पाए । पढाईमा पनि उनी अब्बल तथा नेतृत्व गर्न सक्नेक्षमताका व्यक्तिका रुपमा परिचित थिए ।
विदेश भए पनि स्वदेशलाई माया गर्नुपर्छ भन्ने भावनाका साथ उनको नेतृत्वमा पोखरा बगर भाइ खलकलाई आर्थिक रकम संकलन र युकेबाट मेडल लाने पहिलो योजना उनको सोच अनुसार बनेको थियो । पोखरा म्याराथनलाई पोखरेली मन्चसँग जोड्न समेत् उनको मुख्य भूमिका रहेको छ । त्यस्तै सहारा युकेका लागि पनि आर्थिक र भौतिक रुपमा सहयोग गरिरहेका छन् ।
गत वर्षमात्रै उनलाई सहारा यूकेले सहारा अवार्डबाट सम्मान गरेको थियो । हाल उनी युके रेडिङ्ग बुद्धिस्टगुम्बाको महासचिव पनि छन् । बर्सेनि हुने तमुधिद्वारा आयोजित गोर्खा कपमा ९ वर्षदेखि उनी निरन्तर प्रायोजकको संयोजन गरिरहेका छन् । बेलायतको अल्डरसटमा चाइना ओरिन्टल सुपर मार्केट व्यवसाय सञ्चालनमा उनी व्यस्त छन् ।
