
पोखरा स्पोर्टस । नेपालमा ओलम्पिक डे २०२३ को शुभारम्भ गरिएको छ । विश्व साइकल दिवसको अबसर पारेर ओलम्पिक डे २०२३ को शुभारम्भ गरिएको हो ।

काठमाण्डौको बसन्तपुर डबलीस्थित हनुमान ढोकाबट सुरू भएको साइकल र्यालीको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व मन्त्री जिवनराम श्रेष्ठले एक कार्यक्रमका विच गरेका छन् । उनले सो अवसरमा राष्ट्रिय झण्डा झण्डोतलन् गर्नुका साथै ओलम्पिकको महत्वका बारेमा आफ्ना भनाई राखेका थिए ।
सो अवसरमा नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योती राणाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को झण्डा झण्डोत्तलन गरेकी थिइन् ।
ओलम्पिक डे यो वर्ष नेपालमा तिन साता मनाइन लागिएको स्पोर्टस् फर अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले जानकारी दिएका छन् । उनले भने–“हामी यो वर्ष सात प्रदेशका विभिन्न ४५ जिल्लामा विभिन्न कार्यक्रमका साथ ओलम्पिक डे मनाउदैै छौं ।”
यो वर्ष गर्मी केही बढेकोले पनि कार्यक्रमहरु आयोजना गर्न केही चुनौती थपिएको श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए । तर नेपालमा निकै उत्साहका साथ ओलम्पिक डेको शुभारम्भ गरिएको उनको भनाई थियो । नेपालमा यो वर्ष ५ हजार कार्यक्रमहरु तय गरिएको भए पनि कार्यक्रमको संख्या बढ्न सक्ने उनले बताए ।
जुन २३ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको स्थापना भएको दिन तथा मोर्डन ओलम्पिक खेलको सुरुवात गरिएको दिनका रुपमा रहेकोले ओलम्पिक डे को रुपमा मनाइने गरिन्छ । आम सर्वसाधारणहरु लाई जीवनमा खेलको महत्त्वबारे सचेत गराउन हरेक वर्ष जुन २३ मा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइन्छ । ओलम्पिक दिवस धेरै भन्दा धेरै खेलकुद कार्यक्रम गरी मनाइने हुनाले पनि यो दिन विश्व नै सक्रिय हुने दिनको रुपमा लिइन्छ । यो दिनलाई संयुक्त राष्ट्र संघको महासभाले जुन २३ लाई सार्वजनिक सेवा दिवसका रूपमा मनाउने गरी तोकेको छ ।
ओलम्पिक डे शुभारम्भ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य, कमिसनका उपाध्यक्ष पुर्ब अप्रमनि रमेश कुमार श्रेष्ठ महासचिब राजेश श्रेष्ठ, कोषाध्यक्ष रामजी बहादुर श्रेष्ठ, सदस्यहरु छत्र बहादुर प्रधान, किरण बहादुर श्रेष्ठको समेत सहभागिता रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा कमिसनका राजेश श्रेष्ठ नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल कक्षपती लगायतले ओलम्पिक डे र विश्व साइकल दिवसको महत्वका बारेमा बोलेका थिए । बसन्तपुरबाट सुरु भएको र्याली सातदोबाटोमा पुगेर सम्पन्न भएको अध्यक्ष श्रेष्ठले बताए ।
