राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडी, १० पत्रकारसहित १९ जना सम्मानित

पोखरा स्पोर्टस । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, १० पत्रकारसहित, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी १९ जनालाई नगदसहित शुक्रबार सम्मान गरेको छ । खेलाडीतर्फ उसुका विश्व बुढा मगर र मिना ग्लान, तेक्वान्दोका गिता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबल खेलाडी रामबहादुर तामाङ सम्मानित भए ।

प्रशिक्षकमा करातेकी तारा गुरुङ श्रेष्ठ, निर्णायकमा तेक्वान्दोका दिपेन्द्र ढकाल र खेल चिकित्सकमा प्रा.डा.नवीसमान सिंह प्रधान सम्मानित भए । सबैलाई जनही १ लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरियो ।

पोखराका तिन खेल पत्रकार : बिजय, दिपक र सुमन

यसैबीच खेलकुद मन्त्रालयले १० जनालाई खेल पत्रकारिता समान तथा प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको छ ।

सेतोपाटी अनलाइनका सिताराम कोइराला खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट पुरस्कृत भए । उनले ५० हजार नगदसहित प्रशंसा पत्र पाए ।

प्रदेशतर्फ पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनेमा कोशी प्रदेशबाट कान्तिपुर टेलिभिजनका अर्जुनकुमार सुवेदी, मधेश प्रदेशबाट अनलाइनका संजिवकुमार शाह, बाग्मती प्रदेशबाट रेडियो कान्तिपुरका सुवास विडारी, गण्डकी प्रदेशबाट आदर्श समाज राष्ट्रिय दैनिकका धनबहादुर गुरुङ, लुम्बिनी प्रदेशबाट आदर्श समाजका विजय नेपाल, कर्णाली प्रदेशबाट अन्नपूर्ण पोस्टका ललितबहादुर बुढा र सुदूरपश्चिम प्रदेशबाट अनलाइन सुदूरआज डट कमका पूर्णबहादुर खड्का रहेका छन् । पत्रकारिता प्रोत्साहन पुरस्कार समावेशीतर्फ कान्तिपुर दैनिककी ज्योति कटुवाल तथा कान्तिपुर दैनिककै दिपक परियार सम्मानित भए । उनीहरुले २५ हजार नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close