
पोखरा स्पोर्टस । सरकारले हरेक विद्यालयमा खेल शिक्षक अनिवार्य गर्ने निति अघि सारेको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुराको घोषणा गरेका हुन् । शुक्रबार सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले वार्षिक खेलकुद क्यालेण्डर तयार गर्ने, अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरूको आयोजना गर्ने तथा एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माणको घोषणा गरे ।
त्यस्तै काठमाडौंको कीर्तिपुर र मुलपानी रंगशालाको स्तरोन्नति गरी दुई वर्षभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चाल हुने व्यवस्था गर्ने घोषणा समेत गरेको छ । नेपाली क्रिकेटले पछिल्लो समयमा पाएको उपलव्धिलाई सरकारले मुल्याङ्कन गर्दै उक्त घोषणा गरेको हो । ति दुई क्रिकेट मैदानको स्तरोन्नती गरी दुई वर्ष भित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरिने सरकारको निति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङ्गको विराटनगर क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइने सरकारले निति तथा कार्यक्रममा अघि सारेको छ ।
खेलकुद पूर्वाधारहरूको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लैजाने र खेलकुद पर्यटनको विकास र विस्तार हुने किसिमका खेलकुद पूर्वाधारहरू सार्वजनिक(निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
खेलकुदलाई राष्ट्रको पहिचान¸ गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइने संगै अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरूलाई प्रोत्साहन एवं पुरस्कृत गरिने समेत निति तथा कार्यक्रममा समेटिएको छ ।
