
पोखरा स्पोर्टस । कास्कीको एक विद्यालयको आर्थिक सहयोग जुटाउन ७ जनाले एभरेष्ट म्याराथनमा सहभागिता जनाउने भएका छन् ।कास्की अन्नपूर्ण घान्द्रुकस्थित मेश्रम बराह माध्यमिक विद्यालयको आर्थिक सहयोग जुटाउन उनीहरु एभरेष्ट म्याराथनमा सहभागिता जनाउने भएका हुन् ।

यहि जेठ १५ गते आयोजना हुने एभरेष्ट म्याराथनमा सूर्य गुरुङको नेतृत्वमा तर्कजङ्ग गुरुङ, जुम प्रसाद गुरुङ, जित बहादुर गुरुङ, बुद्धिलक्ष्मी गुरुङ, फत्तबहादुर गुरुङ र सरोज लिम्बुले सहभागिता जनाउने छन् । उनीहरु सबै युके निवासी हुन् ।
सो बारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा विश्वकै कठिन म्याराथनमा दौडिएर च्यारिटीमार्फत रकम संकलन गरिएको बताए । उनले भने–“हाम्रो टाग्रेट ५ हजार पाउण्ड उठाउने थियो तर अहिले १० हजार नाघी सकेको छ भने त्यो क्रम अझै रहेको छ ।” विद्यालयमा अध्ययनरत कठिन परिस्थितीका बालबालिकालाई अध्ययन-अध्यापनमा सहयोग गर्ने उद्धेश्यका साथ आफूहरु एभरेष्ट म्याराथनमा सहभागि हुन लागेको बताए ।
दोश्रो पटक म्याराथनमा सहभागि हुन आएका तर्कजङ्ग गुरुङले विद्यालयको सहयोगार्थ दौडिन लागे पनि एभरेष्ट म्याराथनलाई विश्वव्यापी रुपमा प्रचार गर्नु अर्को उद्धेश्य रहेको बताए । “यो सेल्फ मोटिभेट हुने कुरा समेत हो । हामीले एक निश्चित उद्धेश्यका साथ सहभागि हुँदैछौं । यो म्याराथन म्याराथनका लागि मात्रै नभई खेलकुद मार्फत देशलाई आर्थिक रुपले समृद्ध गर्नु हो । हाम्रो सहभागिताको उद्धेश्य फराकिलो छ ।” उनले भने ।
