
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका अन्तर वडास्तरिय फुटबल जेठ ६ गते सुरु हुने भएको छ ।
जेठ १३ गते सम्म सञ्चालन हुने प्रतियोगिता पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा हुन लागेको हो । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको समितिका सदस्य सचिव सुवास खड्काले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
प्रतियोगिता सफल बनाउन समितिका अध्यक्ष दिपक बहादुर गोदारको संयोजकत्वमा एक मुल आयोजक समिति गठन गरिएको छ ।
पोखरा रंगशाला र गोस्तेघाट खेल मैदानमा आयोजनामा हुने प्रतियोगितामा ३३ वडाका टिमको सहभागिता हुने समितिले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्डले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताले स्थानियस्तरमा खेलाडी उत्पदान संगै फुटबल विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको सदस्य सचिव खड्काले बताए । प्रतियोगिता सम्पन्न गर्न ९ लाख हुने आयोजकले जनाएको छ ।
पोखरामा लामो समय देखि अन्तर वडास्तरिय फुटबल प्रतियोगिता आयोजना हुन सकेको छैन । विशेष गरी स्थानियस्तरको प्रतियोगिताहरु खेलकुद विकासका लागि पहिलो खुडकिलोको रुपमा समेत लिने गरिन्छ ।
