
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न भएको ११ औं राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा रिकर्व एकल पुरुषतर्फ गण्डकी प्रदेशका अशिम शेरचन र महिलातर्फ नेपाल आर्मीकी मञ्जु बजगाँईले स्वर्ण जितेका छन् ।


नेपाल आर्चरी संघको आयोजनामा यहि बैशाख २५ गतेबाट सञ्चालन भएको प्रतियोगितामा रिकर्व पुरुष एकलमा नेपाल पुलिसका प्राञ्जल राईलाई पराजित गरी च्याम्पियन भएका हुन् । पाँच सेटको खेलमा अशिमले प्राञ्जललाई ७–३ अंकले पछि पार्दै स्वर्ण पदक हात पारे । नेपाल आर्मीका रोशन नगरकोटीले कास्य पदक प्राप्त गरे ।
यता सोही इभेन्टमा रिकर्व महिला एकलमा नेपाल आर्मीका मित्र राईले रजत र ज्ञानु अवालेले कास्य पदक प्राप्त गर्न सफल रहे ।
यस्तै मिक्स रिकर्वतर्फ नेपाल आर्मीका डम्बर थापा र मञ्जु बजगाईको जोडीले स्वर्ण जित्दा, गण्डकीका सुमन गुरुङ र रोजिना थापा मगरले रजत तथा नेपाल पुलिसका प्राञ्जल र देबीकला राईको जोडीले कास्य पदक जितेको छ ।
रिकर्व टिम इभेन्टमा नेपाल आर्मीले स्वर्ण, नेपाल पुलिसले रजत र गण्डकीले कास्य पदक जितेको छ ।
सम्पन्न प्रतियोगिता अन्तर्गत भएको कम्पाउण्ड एकल पुरुषतर्फ एपिएफका रमेश भट्टचनले स्वर्ण पदक जित्दा सुदुर पश्चिमका सुरेश गुरुङले रजत र एपिएफका मिन प्रसाद गौचनले कास्य पदक जिते ।
यता महिलातर्फ नेपाल आर्मीकी ईमायुङ राईले स्वर्ण, एपिएफकी प्रसदा आचार्यले रजत र एपिएफकी निर्मला काङवाङले कास्य पदक जितिन् ।
त्यस्तै स्टाण्डर्ड पुरुष एकलमा गण्डकीका रिजन गौचन र महिलातर्फ अनुस्का शेरचनले स्वर्ण पदक हात पारेका छन् । रिजनले सुपका रविन थापा र अनुस्काले नेपाल आर्मीकी तुलसी थापालाई पराजित गरेका थिए । पुरुषतर्फ नेपाल आर्मीका विशाल कुंवर र कोशीकी गंगा राईले कास्य पदक जिते ।
यसै गरी स्टाण्डर्ड मिक्स डवल्समा गण्डकीको रिजन गौचन र अनुस्का शेरचनको जोडीले स्वर्ण पदक जितेको छ । त्यस्तै नेपाल आर्मीको तुलसी थापा र विशाल कुवंरको जोडीले रजत र कोशी प्रदेशको कुशल राई र गंगा राईको जोडीले रजत पदक प्राप्त गरेका छन् ।
विजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पूर्व मन्त्री जिवनराम श्रेष्ठले पदक तथा प्रमाणपत्र वितरण गर्दै आगामी १९ औं एसियाली खेलकुदमा उत्कृष्ट हुने गरी तयारीमा जुट्न खेलाडीहरुलाई आग्रह गरे । अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद संघिय संरचना अन्तर्गत अघि बढ्नु पर्ने र तिनै तहको सरकार मिलेर खेलकुद विकासको गतिलाई अघि बढाउनु पर्ने कुरा औंल्याउँदै नेपालको आर्चरी खेलले पछिल्लो क्रममा गरेको विकास महत्वपूर्ण रहेको बताए ।
नेपाल आर्चरी संघका अध्यक्ष दिपक बहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेल, संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, संघका वरिष्ठ उपाध्यक्ष बसन्त थकाली, महासचिव रमेश प्रसाद सिवाकोटी, अग्रज खेलाडी खड्ग बहादुर रानभाट, जिल्ला खेलकुद कास्कीका प्रमुख डिवी नेपालीलगायतले खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा कोशी, मधेश, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेशसहित तिन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र एपिएफका गरी ६२ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको सहयोगमा भएको हो ।
