
पोखरा स्पोर्टस । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आफ्नो कार्यकालमा इमान्नन्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनकै सम्मानमा मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा खेलकुदमन्त्री लिम्बुले उक्त कुरा बताएका हुन् । उनले भने– ‘केही गरौँ भन्ने इच्छाकासाथ खेलकुद मन्त्रालयमा आएको छु, त्यसैले बढी समय दिएर भए पनि लक्ष्य पूरा गर्ने तर्फ अगाडि बढ्ने छु । तर नतिजा निकाल्न एक्लैले सम्भव हुँदैन । मलाई सबैको साथ चाहिन्छ । खेलकुद क्षेत्रभित्र समस्या छ । ती समस्या र कमीकमजोरीलाई सामूहिक प्रयासले हल गर्नुपर्छ । अझ यसमा स्थायी सरकारको रुपमा रहेका कर्मचारीको ठूलो भूमिका रहन्छ ।’
एकअर्कालाई दोषारोपण गरेर होइन, सबै मिलेर मात्र सफलता हासिल गर्न सकिने उनले बताए ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले लामो समयपछि खेलकुद क्षेत्रको अभिभावकत्व ग्रहण गरेकोमा खेलकुदमन्त्री लिम्बुलाई बधाई दिए । उनले खेलकुद उचाई हासिल गर्न सक्ने मञ्च भएको बताउदै मन्त्री लिम्बुलाई राम्रो काम गरेर खेलकुदबाट आफ्नो राजनीतिक उचाई अझ बढाउन सफलताका लागि शुभकामना समेत् दिए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिए । नवनियुक्त मन्त्री लिम्बुसमक्ष चुनौतीलाई अवसरमा बदल्ने अवसर भएको बताउदै राष्ट्रिय खेलकुदलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद आयोजना गरेर कोभिडपछि ठप्प भएको नेपाली खेलकुदलाई गतिमा ल्याएको बताए ।
