
पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न तीनजना खेलाडीबिच प्रतिष्पर्धा हुने भएको छ । यसरी प्रतिष्पर्धा गर्नेमा आर्चरीकी रोजीना थापा मगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् ।
उत्कृष्ट तीनको मनोनयनमा परेका रोजीना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङ जिल्लाकी हुन् । यस अघि यो विद्याको अवार्ड प्राप्त गर्ने खेलाडीमा भलिबलकी मञ्जु गुरुङ, सितेरियो कराँतेकी बिमला नेपाली, तेक्वान्दोकी पार्वती गुरुङ, कराँतेकी सुष्मी श्रेष्ठ रहेका छन् । भलिबलकी अरुणा शाहीले दुईपटकसम्म यो विधाको अवार्ड हात पारेकी थिइन् ।
रोजीना थापा मगर–आर्चरी
२०५९ सालमा जन्मिएकी रोजीना थापा मगरले २०७२ सालदेखि आर्चरी खेल्न सुरु गरेकी हुन । स्व.लक्ष्मण कुमार श्रेष्ठको स्मृतिमा ०७३ सालमा आयोजना गरिएको राष्ट्रिय आर्चरी प्रतियोगितामा स्वर्ण पदक हात पारेकी उनले ०७३ सालमै सम्पन्न सातौ राष्ट्रिय खेलकुदमा दुई स्वर्ण पदक हात पारेकी थिईन ।
२०७४ सालमा सम्पन्न स्व.लक्ष्मण कुमार श्रेष्ठको स्मृतिमा आयोजना गरिएको चौथो राष्टिय अर्चरीमा रजत पदक हात पारेकी थिइन् । उनले प्लस टु उत्तिर्ण गरेकी छन् । ०७४ सालमा सम्पन्न राखेप च्याम्पिएनशिपमा कास्य पदक हात पार्दै एशियन खेलका लागि छनौट भएकी थापाले सरकारले आवश्यक बजेटको व्यवस्था नगरिदिँदा प्रतियोगितामा सहभागि हुन भने पाईन्न ।
२०७६ सालमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी उनले पदक हात पार्न भने सकिन्न । ०७९ सालमा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण हात पार्न सफल भईन । दोस्रो गण्डकी प्रदेश स्तरिय खुल्ला आर्चरी प्रतियोगितामा समेत उनले काँस्य पदक हात पारेकी थिइन् ।
सुस्मिता थापा मगर – आइटिएफ तेक्वान्दो
२०६० सालमा बाग्लुङमा जन्मिएकी सुस्मिता थापा मगर आइटिएफ तेक्वान्दो खेलाडी हुन् । हाल खेल व्यवस्थापनमा स्नातक तहमा अध्य्यनरत थापाले ०७४ सालदेखि खेल्न सुरु गरेकी हुन् । पहिलोपटक ०७६ मा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा सहभागी भएकी उनले एक स्वर्ण र दुई रजत पदक हात पार्न सफल भइन् । ०७७ मा सम्पन्न २० औ सिनियर राष्ट्रिय च्याम्पियनशिपमा सहभागी उनले तीन रजत हात पारेकी थिईन ।
२०७८ मा भएको पहिलो गण्डकी प्रदेशस्तरिय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण पटक हात पार्दै उत्कृष्ट खेलाडी घोषित भइन् । २०७९ मा सम्पन्न नवांै राष्ट्रिय खेलकुदमा एक स्वर्ण र एक रजत पदक हात पार्न सफल बनिन् ।
सावित्रा भण्डारी –फुटबल
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन । १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनी फुटबल भन्दा अघि एथलेटिक्स र भलिबल खेलाडी हुन् । उनले ०६९ मा भएको राष्ट्रपति रनिङ अन्र्तगत १०० मिटर दौडमा स्वर्ण जितेकी थिईन ।
२०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । त्यसपछि हालसम्म गरि उनले देशको प्रतिनिििधत्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जर्ना सकेकी छिन् ।
०७० सालमा विभागीय एपिएफ क्लबमा आवद्ध उनी हालसम्म सोही क्लबमा आवद्ध छिन् । उनी भारतको क्लवमा समेत आवद्ध रहदै विभिन्न प्रतियोगिताहरुमा सहभागी हुँदै आएकी छिन् ।
बैशाख २३ गते हुने अवार्ड कार्यक्रममा वर्ष खेलाडी महिला सहित वर्ष खेलाडी पुरुष, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ ।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।
