पोखरा स्पोर्टस । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गण्डकीले थप एक स्वर्ण र एक रजत पदक हात पारेको छ ।

रजत पदक विजेता प्रिन्स आफ्ना प्रशिक्षक सुरेन्द्र गुरुङका साथमा
काठमाण्डौमा जारी प्रतियोगितामा करातेतर्फ गण्डकीले एक स्वर्ण र एक रजत हात पारेको हो । गण्डकीकी अपैक्षा थापाले स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छन् । भर्खरै सम्पन्न ४५ केजी तौल छात्रतर्फ स्वर्ण जितिन् । उनले फाइनल स्पर्धामा बागमतीकी सन्जु देसारलाई पराजित गरेकी हुन् । अपेक्ष्ााँले सेमीफाइनलमा समेत बागमतीकी खेलाडी ममता साह शंकरलाई पराजित गरी फाइनलमा प्रवेश गरेको गण्डकीका टिम प्रशिक्षक सुरेन्द्र गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
यसै गरी करातेतर्फ नै छात्र एकल कातामा गण्डकीले रजत पदक प्राप्त गरेको छ । गण्डकीका प्रिन्स गुरुङले गण्डकीका लागि रजत दिलाएका हुन् । अपेक्षा तनहुँ र प्रिन्स कास्की पोखराका हुन् ।
कोशीका सूर्यचन्द्र राईले छात्र एकल कातामा स्वर्ण जिते भने उक्त स्पर्धाको छात्रामा बागमतीकी सन्जु देशारले स्वर्ण, मधेश प्रदेशकी सुजिता परियारले रजत तथा मधेशकी प्रोसिया चौधरी र कर्णालीकी प्रियंका शाहीले कांस्य जिते ।
प्रतियोगिता अन्तर्गत करातेतर्फ कुल ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । त्यस मध्ये गण्डकीले १ स्वर्ण र १ रजत पदक हात पारेको छ । थप ४ स्वर्ण पदकका लागि आइतबार प्रतिस्पर्धा हुने प्रदेश खेलकुद परिषद गण्डकीका कार्यालय प्रमुख तोपलाल भुसालले बताए ।
उसु : लेनिनले जिते कास्य
उसुको छात्रतर्फ नान छ्वानमा कोशीका एलिश मरिक पहिलो, बागमतीका सुमन तामाङ दोश्रो तथा गण्डकीका लेनिन राना तेश्रो भए । सो स्पर्धाको छात्रामा बागमतीकी ममता सुनुवारले स्वर्ण, सुदूरपश्चिमकी दिब्य बोगटीले रजत र सुदूरपश्चिमकै कटिना बोहराले कांस्य हात पारे ।
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको छात्रा छाङ छ्वानमा बागमतीकी मारिया राई पहिलो, सुदूरपश्चिमकी दिपिका चौधरी दोश्रो तथा बागमतीकी अनुषा लुङेल मगर तेश्रो बने ।
छात्र थाइची छ्वानमा सुदूरपश्चिमका शिरीष श्रेष्ठ प्रथम, बागमतीका विवेक मण्डल द्वितीय र सुदूरपश्चिमका प्रमित चौधरी तृतीय भए । उक्त स्पर्धाको छात्रामा सुदूरपश्चिमकी पुष्पा कुँवर पहिलो, बागमतीकी लक्ष्मी तामाङ दोश्रो तथा कोशीकी इक्सा लङवा तेश्रो बने ।
