
पोखरा स्पोर्टस । पोखरामा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीमा तिव्रता दिए संगै सहयोग आउने क्रम जारी रहेको छ ।
अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा सहयोगीहरु जोडिने क्रम समेत बढ्न थालेका छन् । जसअनुसार नेपाल भूतपूर्व खेलाडी मञ्चले अवार्ड कार्यक्रममा सघाउने भएको छ । मञ्चले अवार्डका लागि नगद रु २५ हजार रुपैयाँ सहयोग गर्ने भएको अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् ।
यता सहारा हङकङले अवार्ड कार्यक्रमको लागि दश हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम सहारा हङकङका अध्यक्ष दीपक गुरुङले मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गरें । सहयोग हस्तान्तरण कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, सदस्य कृष्ण दवाडी सहभागी बनें ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति तथा तेह्र वटा उपसमितिले आफ्नो जिम्मेवारी अनुसारको कामलाई तिव्र रुपमा अगाडि बढाइरहेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन् ।
आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका पौडेलले बताए ।
मञ्चले मंगलबारसम्ममा चारवटा विधाको नोमिनेसन सार्वजनिक गर्ने तयारी गरेको छ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धि समेतलाई आधार बनाएर तीन–तीन जनाको नाम छनोट गरेर नोमिनेसन सार्वजनिक गरिनेछ ।
यसका अलावा अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, वल्ड लिंक, फुडमाण्डु, पश्चिमाञ्चल सामुदायिक अस्पताल लगायतले सहयोग गर्ने तय भैसकेको मञ्चले जनाएको छ ।
यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा सांगीतिक तथा सास्कृतिक कार्यक्रम समेत रहने उनले खुलाए ।
