
पोखरा स्पोर्टस । प्रथम राष्ट्रिय तेक्वान्दो पुम्सेमा कास्कीका सुभन गुरुङले दोहोरो स्वर्ण जितेका छन् ।
नेपाल तेक्वान्दो संघको आयोजनामा बुधबार राती सम्पन्न प्रतियोगितामा उनले दुई छुट्टा छुट्टै इभेनटमा स्वर्ण जितेका हुन् । कास्की पोखरा अव्सुल्युट डोजाङका सुभनले १२–१४ वर्ष उमेर सुमह एकलतर्फ स्वर्ण जिते भने जोडीतर्फको सोही उमेर समुहमा प्रतिक्षा गुरुङ र उनले स्वर्ण जितेका छन् ।

एकल महिलातर्फ १०–१२ वर्ष उमेर समुहमा लिजा पुन कास्य पदक प्राप्त गर्दा, पुरुषतर्फ एरिक रानाले कास्य पदक हात पारे । १२–१४ वर्ष उमेर समुहमा पुरुषतर्फ अपिल गुरुङले रजत पदक हात पार्दा महिलातर्फ प्रतिक्षा रानाले कास्य र गुन मायाँ गुरुङले कास्य पदक हात पारिन् ।
जोडीतर्फको प्रतिस्पर्धामा १२–१४ वर्ष उमेर समुहमा अपिल गुरुङ र गुनमायाँ गुरुङको जोडीले रजत पदक, पुरुष १४–१७ वर्ष उमेर सुमहमा सचिन विक र मियोङ गुरुङको जोडीले स्वर्ण पदक हात पारे भने १०–१२ वर्ष उमेर समुहमा एरिक राना, आरुष नेपाली र विश्व विकले रजत पदक प्राप्त गरे ।
यता सिनियर ३०–४० वर्ष उमेर समुह जोडीको प्रतिस्पर्धा गरेकी रेख मायाँ गुरुङले रजत पदक हात पारिन । नेपाल आर्मीका रेजिन रिमाल संग मिलेर उनले प्रतिस्पर्धा गरेकी थिइन् ।
