
पोखरा स्पोर्टस । तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ ।

उक्त प्रतियोगिताको आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी आय–व्यय सार्वजनिक गरेको हो । गत माघ ८ देखि १४ गते सम्म आयोजना भएको प्रतियोगिताबाट रु ९० लाख ६७ हजार ५५ रुपैयाँ आम्दानी तथा खर्चतर्फ रु ८५ लाख १५ हजार १ सय १४ गरी कुल ५ लाख ५१ हजार ९ सय ४१ रुपैयाँ बचत गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।
कुल आम्दानी मध्ये टिकट संकलनबाट रु १६ लाख ७५ हजार ५ सय आम्दानी भएको संस्थाले जनाएको छ । त्यसै गरी स्वदेश तथा विदेश एवं संघ संस्थाहरुको सहयोगबाट रु ३९ लाख ४१ हजार ५५५, मुख्य प्रायोजकबाट रु १४ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषदबाट रु ८ लाख, प्रदेश खेलकुद परिषद गण्डकीबाट रु ५ लाख र पोखरा महानगर पालिकाले रु ७ लाख सहयोग गरेको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा महिलालतर्फ केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, त्रिभुवन आर्मी कलब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका थिए भने पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबसहित एसटी जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहेको थियो ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शर्माले बचत भएको रकम सामजिक विकास एवं खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने–“टाइगर कपमार्फत भलिबल विकासमा सहयोग पुगेको छ भन्ने विश्वास लिएका छौं । यहाँहरुको सबैको सहयोगले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न भूमिका खेलेको छ । म स्वदेश तथा विदेशबाट सहयोगी संस्था तथा मित्रहरुलाई पुनः एक पटक यहाँहरु मार्फत आभार व्यक्त गर्दछु ।”
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद तथा संस्थाका महासचिव प्रकाश बरालले खेलकुदमा सबैलाई अट्ने वातावरण आवश्यक रहने कुरामा जोड दिंदै खेल पूर्वाधार निर्माणमा राज्यको ध्यान जानु पर्ने बताए । संस्थाले भलिबल खेल विकासका लागि अनुकरणिय कार्य गरेको बताउँदै उनले पोखरालाई खेलकुदको राजधानी नभै खेलकुदको गन्तव्य बनाउनु पर्ने उल्लेख गरे ।
सा् अवसरमा संस्थाका सचिव तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिवी नेपालीले समेत आफ्नो भनाई राखेका थिए ।
