राष्ट्रिय पुरुष हक्कीको उपाधि आर्मीले जित्यो

पोखरा स्पोर्टस । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार राति विराटनगरमा भएको फाइनलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गर्‍यो । आर्मीले लिगमा पनि पुलिसलाई पराजित गरेको थियो । पहिलो संस्करणमा गण्डकी र दोस्रोमा लुम्बिनीले उपाधि जितेका थिए ।

खेलको ४१ औं मिनेटमा आर्मीका काशीराज राईले गरेको गोल नै निर्णायक बन्यो । ‘म्यान अफ द म्याच’ आर्मीका नितिश न्यौपाने भए ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसका हरिदत्त पाण्डे, इमर्सिङ प्लेयर सुदूरपश्चिम प्रदेशका महेश नेपाली, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट डिफेन्डर पुलिसका योगेश बारघरे र सर्वोत्कृष्ट खेलाडी आर्मीका नितिश न्यौपाने भए ।

खेलाडीहरुलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्या डा. डिला संग्रौला, प्रतियोगिताका संयोजक रञ्जन थापा, नेपाल हक्की संघ मोरङका अध्यक्ष राजेश गुप्ता, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँलगायतले पुरस्कार प्रदान गरे । 

प्रतियोगिताको विजेता आर्मीले ७५ हजार र उपविजेता पुलिसले ४१ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै मधेस प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान भएको सुदूरपश्चिम प्रदेशले २५ हजार नगद पायो । प्रतियोगितामा आर्मी, पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित ७ टिम सहभागी थिए ।

समापन कार्यक्रममा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा दक्षिण एशियाली महिला हक्की प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग गर्ने बताए । आगामी वर्षको नीति कार्यक्रमा एवं बजेटमा यस प्रतियोगितालाई राख्ने बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘हक्कीका लागि आवश्यक पर्ने जग्गा जोहो गरे प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न सहयोग गर्छ । यस खेलमा युवा पुस्तालाई आकर्षण गराउन र अन्य प्राविधिक कुरामा सहयोग गर्न प्रदेश सरकार तयार छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close