गण्डकी प्रदेश ढोरपाटन कप भलिबलको उपाधि नजिक

पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल टिम छैटौं ढोर पाटन कप भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

मंगलबार भएको सेमीफाइनलमा नेपाल पुलिस क्लवलाई ३–२ ले पराजित गरी रोमाञ्चक जित निकालेर गण्डकी उपाधि नजिक पुगेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा गण्डकीले पहिलो सेट २५–२१ र दोश्रो सेट २५–१५ ले जित्दै पुलिसलाई दवावमा राखेको थियो ।

तर तेश्रो सेट भने गण्डकीले २२–२५ ले पुलिसलाई सुम्पियो भने चौथो सेट पनि पुलिसले २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । तर अन्तिम सेटमा गण्डकी पुनः लयमा फर्किदैं १५–९ ले जितेर फाइनलमा स्थान पक्का गरेको हो ।

गण्डकीले उपाधिका लागि शसस्त्र प्रहरीको एपिएफ क्लव संग भिड्ने छ । यता एपिएफले नेपाल आर्मीलाई ३–१ ले पराजित गरेको थियो । एपिएफले आर्मीमाथि १८–२५, २५–२२, २५–२२ र २५–२१ को सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । फाइनल र तेस्रो स्थानको लागि बुधबार प्रतिस्पर्धा हुनेछ । 

जित पछि पोखरा स्पोर्टस संग कुरा गर्दै गण्डकीका टिम प्रशिक्षक रमेश केसीले आफ्ना दुई महत्वपूर्ण खेलाडीहरु विदेशमा खेल्न गएको बताए । उनले भने–“हाम्रो टिमका दुई महत्वपूर्ण खेलाडी घनश्याम चौधरी र हिमाल सुनारी यतिबेला युएईमा खेल्न गएका छन् । उनीहरु टिममा रहेको भए जित अझै सहज हुने थियो । तर भर्खरै हामीले टाइगरकप जितेकोले पनि टिममा उत्साह छ । हामी उपाधि जित्ने लक्ष्यका साथ बुधबार मैदानमा उत्रनेछौं ।”

च्याम्पियनसिपको विजेताले २ लाख ५० हजार, कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख २५ हजार, कप र मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले ६५ हजार, कप र मेडल प्राप्त गर्नेछ । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रशिक्षक प्रशिक्षण गरेका प्रशिक्षकलाई मात्रै उत्कृष्ट प्रशिक्षक प्रदान गरिने आयोजकले जनाएको छ ।

यता गण्डकी प्रदेश भलिबल संघका उपाध्यक्ष हरि श्रेष्ठले भोली हुने फाइनल खेलमा गण्डकीले उपाधि जित्नेमा आफू विश्वस्त रहेको पोखरा स्पोर्टसलाई बताए । उनले जितको लागि शुभकामना समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close