आर्चरी प्रशिक्षकका लागि ओलम्पिक सोलिडेरिटी टेक्निकल कोर्ष सम्पन्न

उत्कृष्ट प्रशिक्षक बाटै उत्कृष्ट खेलाडी उत्पादन हुन्छन्–एनओसी महासचिव श्रेष्ठ

पोखरा स्पोर्टस । पोखरा रंगशालाको आर्चरी प्रशिक्षण केन्द्रमा आर्चरी प्रशिक्षकका लागि ‘आर्चरी लेभल वान’ ओलम्पिक सोलीडारिटी टेक्निकल कोर्ष सम्पन्न भएको छ ।

नेपाल आर्चरी संघको आयोजना, नेपाल ओलम्पिक कमिटिको सहयोग, वर्ल्ड आर्चरी महासंघको प्राविधिक सहयोगमा एक साता लामो उक्त प्रशिक्षण सम्पन्न भएको हो । सोलिडेरिटी कोर्षमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले उत्कृष्ट प्रशिक्षकहरु बाट नै उत्कृष्ट खेलाडी उत्पादन हुने बताए । उनले भने–“प्रशिक्षकमा धैर्यताको आवश्यक्ता हुन्छ । प्रशिक्षकको क्षमता र शिपलेनै एक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुन्छ । त्यसैले प्रशिक्षकहरु नयाँ कुरा सिक्न संधै तयार रहनुहोस । उत्कृष्ट प्रशिक्षकको उदाहरण नै उत्कृष्ट खेलाडीको उत्पादन हुनु हो । जसका कारण प्रशिक्षकले मात्रै होइन सिङ्गो राष्ट्रले गौरव गर्ने मौका पाउँछ । 

महासचिव श्रेष्ठले अहिले को खेलकुद प्रविधि संग जोडिएकोले प्रशिक्षकहरुले समेत प्रविधिलाई आत्मसात गर्र्नु पर्ने उल्लेख गर्दै नेपाली आर्चरी खेल सम्भावना बोकेको खेल भएको बताए । उनले भने–“आर्चरी हाम्रो परम्परागन खेल हो । अहिले आधुनिकतामा परिवर्तन भएको छ । तर हामीले प्रविधिलाई आत्मसात गर्दै अघि बढ्यौं भने पक्कै पनि मुलुकले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त गर्न सक्छ ।” धेरै प्रशिक्षकहरु उत्पादन भए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा सोचे जस्तो परिणाम आउन नसकेको उल्लेख गर्दै महसचिव श्रेष्ठले प्रशिक्षकहरु नयाँ कुरा सिक्न संधै तयार भएर रहनु पर्ने बताए । उनले आर्चरीको सोलिडेरिटी कोर्ष नेपालमा आयोजना गर्न गरेको सहकार्यका लागि आभार समेत व्यक्त गरे ।

नेपाल आर्चरी संघका अध्यक्ष दिपकराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गुरुङले १३ वर्ष पछि यो कोर्ष सञ्चालन गर्न पाउनु गर्वको विषय रहेको जनाउँदै प्रशिक्षकहरुले आ–आफ्नो ठाउँबाट खेलाडी उत्पादनमा लाग्न आग्रह गरे ।

सो अवसरमा आफ्ना भनाई राख्दै नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटीले सबैको सहयोगले यो कोर्ष सञ्चालन गर्न सहयोग पुगेको बताए । उनले आफूले प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै कोर्षबाट प्राप्त प्रमाणपत्र कोठाको भित्तामा भुण्डाउनका लागि मात्रै नभएको बताए । उनले आर्चरीको अनुशासनमा रहेर अघि बढ्न सके राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता प्राप्त हुनेमा विश्वस्त रहेको उल्लेख गरे ।

कार्यक्रममा वर्ल्ड आर्चरीका प्रशिक्षक खालिद सोफियाने लामान्देले आफ्नो नेपाल बसाई शुखद रहेको कुरा औल्याउँदै नयाँ प्रशिक्षकहरु उत्पादन हुनु नेपाली आर्चरीका लागि महत्वपूर्ण रहेको बताए । उनले आफूले सिकेको शिप व्यवहारमा लागु गर्न आग्रह गर्दै प्रशिक्षकहरुले जहिले पनि आफ्नो सिकाई उत्कृष्ट बनाउन सिक्न र सोध्न पछि पर्न नहुने बताए ।

कार्यक्रममा कास्की आर्चरी संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य योगेन्द्र शेरचनले समेत आफ्ना भनाई राखेका थिए ।

उक्त सोलिडेरिटी टेक्निकल कोर्षमा नेपाल आर्मी सहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिमका गरी १५ जनाको सहभागिता रहेको थियो । सहभागि मध्ये १० जनाले डिप्लोमा तह उर्तिण गरेका छन् जस मध्ये गण्डकीका दुई जना रहेको शेरचनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close