
पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघले ग्रासरुट लेभल प्रशिक्षण सुरु गर्न विशेष साधारण सभा नै बोलाएको छ ।

कास्कीको खेलकुदमा क्रियाशिल संस्थाको रुपमा परिचित कास्की जिल्ला टेनिस संघले टेनिसको विकासका लागि भन्दै ग्रासरुट लेभल प्रशिक्षण सुरु गर्ने भएको हो । सो को लागि संघले विशेष साधारणसभा नै बोलाएको थियो । शनिबार भएको विशेष साधारणसभामा कास्की टेनिसका संस्थापक अध्यक्ष तथा नेपाल टेनिसका केन्द्रिय उपाध्यक्ष बिनोद कायस्थले संघले खेलाडी उत्पादन जस्तो महन्वपूर्ण विषयलाई गम्भिर भएर अघि बढाउन लागेको बताए । उनले भने–“अहिले पोखरा टेनिसको हव भएको छ । सिनियर र जुनियरतर्फ नेपालका नं १ खेलाडी पोखराबाटै छन् । उनीहरुको शाखलाई कायम गर्न पनि खेलाडी उत्पादन नै अहिलेको प्रमुख आवश्यक्ता हो ।”
कास्की टेनिसले ग्रासरुट लेभल प्रशिक्षण सुरु गर्न र पोखरामा टेनिसको संस्कृति स्थापित गरी खेलप्रेमीहरुका विच टेनिस प्रेमीहरु समेतलाई कोर्ट सम्म ल्याउन योजनासहित अघि बढेको बताउँदै उपाध्यक्ष कायस्थले यसका लागि आवश्यक योजनाहरुलाई अघि बढाइएको उल्लेख गरे । खेलाडी उत्पादन संगै प्रशिक्षकहरुको उत्पादनमा समेत विशेष ध्यान दिने बताउँदै उनीहरुलाई टेनिसमार्फत नै स्वरोजगार बनाउने गरी संघले आफ्ना योजना हरु अघि बढाउने उनको भनाई थियो । उनले पोखराबाट उत्पादित प्रशिक्षकहरुलाई पोखरामा नै फर्काउने योजना अनुरुप आफूले पहल गर्ने बताए ।
कास्की टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष दोर्जे लामा, सल्लाहकार समितिका सदस्य गोपी भट्टराई, सिनियर प्रशिक्षकद्वय अनु जोन र लि उइलियम, नेपालका नं १ टेनिस खेलाडी प्रदिप खड्का, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्षद्वय केशव पाठक र बिनोद लामिछानेले समेत कास्की टेनिसले सुरु गर्न लागेको अभियानले कास्की टेनिसको जगलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सो अवसरमा कास्की टेनिसका सचिव नविन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए ।
