
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटि (एनओसी)को आयोजनामा दुई दिने स्पोर्टस लिडर्स समिट काभ्रेको धुलिखेलमा सुरु भएको छ ।

मुलुकको संघिय संरचना पछि पहिलो पटक आयोजना भएको आयोजना भएको उक्त कार्यक्रमको नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गरेका हुन् । सो अवसरमा कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले दुई दिने स्पोर्टस लिडर्स समिट नेपालको खेलकुद विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
भर्चुअल माध्यमद्वारा कार्यक्रमको उद्घाटन गरेका प्रधानमन्त्री प्रचण्डले भने–“भविष्यमा खेलकुद विकासका लागि केन्द्र र प्रदेश सरकारका विच एकरुपता कायम गर्न सम्मेलन सफल हुनेमा आफू विश्वस्त रहेको छु ।” यस प्रकारका कार्यक्रमले निति नियम तर्जुमागर्न र दिशानिर्देश गर्न समेत सम्मेलनले भूमिका खेल्ने बताउँदै उनले खेलकुद विकास ऐनको कार्यान्वयन, नेपाली खेलकुदले तय गर्नुपर्ने प्राथमिकता, खेलकुदलाई आवश्यक पर्ने पूर्वाधार, खेलाडी, प्रशिक्षक र रेफ्रिका लागि आवश्यक पर्ने प्रशिक्षणलगायतका विषयमा हुने छलफलले सहि निष्कर्ष निकाल्नेमा विश्वस्त रहेका बताउँदै प्रधानमन्त्री प्रचण्डले भविष्यमा समेत यस प्रकारका कार्यक्रमहरु आयोजना गर्नुपर्नेमा जोड् दिए ।
सो अवसरमा आफ्ना भनाई राख्दै संघिय सरकारका पूर्व मन्त्री एवम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले खेलकुद मार्फत मुलुकले चाहेको लक्ष्य हासिल गर्न एनओसीले पहिलो पटक यस्तो कार्यक्रमका लागि समन्वय गरेको बताए । उनले कार्यक्रमको महत्वमाथी प्रकाश पार्दै देशले अपेक्षा गरे अनुरुपको खेलकुद विकास संगै एकतावद्ध खेलकुद आजको आवश्यक्ता रहेको कुरा औल्याए ।
उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री पन्चराम गुरुङ, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समेत खेलकुदमा लगानी अनुरुपको प्रतिफल हासिल गर्न नसकेको बताउँदै केन्द्र र प्रदेश सरकारका विच खेलकुद विकासका लागि सम्वन्ध विकास संगै कानुनी जटिलताहरु फुकाउन कार्यक्रम महत्वपूर्ण हुने बताए ।
सम्मेलनको पहिलो दिन वरिष्ठ अधिवक्ता लोक भक्त राणाले खेलकुद विकास ऐन २०७७ र खेलकुद विकास नियमावलीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
दुई दिने सम्मदेलनमा सातवटा छुट्टा–छुट्टै विषयमा कार्यपत्रहरु प्रस्तुत गरिने छ । कार्यक्रममा खेलकुद ऐन, खेलकुदको प्राथमिकता, खेल भौतिकपूर्वाधार, खेल प्रदर्शन र मनोविज्ञान, खेल सुरक्षा, ओलम्पिक अभियान, एन्टी डोपिङ र लैगिक समानताबारे चर्चा हुनेछ । यी विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधीहरु र नेपाली खेलकुद संग आवद्ध विज्ञहरुले प्रस्तुती गर्नेछन् ।
कर्यक्रममा सातै प्रदेशका खेलकुद मन्त्रीहरु, प्रदेश खेलकुदका सदस्य सचिवहरु, खेलकुद विज्ञहरु, विभिन्न राष्ट्रिय खेलकुद संघका अध्यक्षहरु, राष्ट्रिय खेलकुद परिषदका विभागिय प्रमुखहरु, पत्रकारहरुलगायत गरी १ सय भन्दा वढिको सहभागिता रहेको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।
