भलिबल प्रतियोगिता व्यवस्थित गर्न संघले डाक्यो रेफ्रिहरुको बैठक

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका भलिबल रेफ्रिहरुलाई व्यवस्थित बनाउन गण्डकी प्रदेश भलिबल संघले बैठक बोलाएको छ ।

संघले भलिबल खेललाई थप व्यवस्थित र मर्यादित कनाउन राष्ट्रिय तथा क्षेत्रिय भलिबल रेफ्रिहरुको बैठक बोलाएको हो । सो बारे जानकारी दिंदै संघका अध्यक्ष नविन गुरुङले राष्ट्रिय खेल भलिबललाई मर्यादित, व्यवस्थित तथा विवाद रहित बनाउन रेफ्रिहरुको भूमिका महत्वपूर्ण हुने भएकोले उनीहरुलाई थप मर्यादित बनाउन र संघको निर्णय अनुसार अघि बढ्ने गरी बैठक बोलाइएको पोखरा स्पोर्टसलाई जानकारी दिए ।

“नेपालको राष्ट्रिय खेल भलिबलको क्रेज एकदमै छ । गाउँ–गाउँ टोल–टोल मेलाहरुमा भलिबलका प्रतियोगिता आयोजना हुन्छन । यो संगै रेफ्रिहरुलाई व्यवस्थित गर्न समस्या समेत परेको छ,” अध्यक्ष गुरुङले भने–“प्रतियोगिताहरु बढे संगै रेफ्रिहरुबाट आफ्नो मनलाग्दी हुने गरेको छ । खेलमा विवाद हुन्न भन्न सकिन्न । विवाद भए पछि पहिलो टाग्रेट रेफ्रि बन्छन् । त्यो विवाद संघमा समेत आइपुग्छ ।”

गण्डकी प्रदेशमा यतिबेला राष्ट्रिय तथा क्षेत्रिय भलिबलका ६५ भन्दा वढि रेफ्रिहरु कार्यरत छन् भने एसियन भलिबल केन्डिडियट रेफ्रिको रुपमा तहल सिंह थापा मगर र विकाश गुरुङ रहेका छन् । बैठकमा सबै रेफ्रिहरु सहित जिल्लाका रेफ्रि संयोजकहरुलाई बैठकमा बोलाएको छ ।

प्रतियोगिताहरु आयोजना हुँदा व्यक्तिगत परिचयको आधारमा रेफ्रिहरु आयोजकले बोलाउने र उनीहरुको समझदारीमा पारिश्रमिक समेत तय गरिने हुँदा थप समस्या उत्पन्न भएको अध्यक्ष गुरुङले बताए । “भलिबल प्रतियोगिता हरुमा आ–आफ्नो तवरले पारिश्रमिक तय गरिएको छ । सबै भद्रगोलको स्थितीमा रेफ्रिहरु मर्यादित हुन सकेनन् ।” उनले भने–“हामीले उनीहरुलाई लगाम लगाउन खोजेको त होइन तर संघ रेफ्रिका कारण कुनै पनि प्रतियोगिताको विवादमा पर्न चाहन्न यो नै स्पष्ट कुरा हो ।”

उक्त बैठक माघ २८ गते हुने तय भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close