मुख्यमन्त्री कप भलिबल स्याङ्जा सर्‍यो, ११ वटै जिल्लाको सहभागिता पक्का

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकार स्थापनाको अवसरमा आयोजना हुने गण्डकी प्रदेश स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता स्याङजामा हुने भएको छ ।

यस अघि पोखरा तय भएको प्रतियोगिता स्याङजा वालिङस्थित मालेबगर भलिबल खेल मैदानमा हुने भएको हो । उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाले सहभागिता जनाउने पक्का भएको उक्त प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जनाएका छन् । “हामीले प्रतियोगिताका लागि पहिलो चरणको तयारी पुरा गरिसकेका छौं,” संयोजक क्षेत्रीले भने–“मनाङ जिल्लाको पुरुष टिमले सहभागिता जनाउने भएको छ भने अन्य दश जिल्लाका महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।”

प्रतियोगिताको तयारीका लागि स्थानियस्तरमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य गिरमान गुरुङको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ । उक्त समितिमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहन गुरुङ र जिल्ला भलिबल संघका अध्यक्ष विरेन्द्र श्रेष्ठ रहेको प्रदेश खेलकुद परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

मुख्यमन्त्री भलिबल प्रतियोगिता यहि फागुनको १ देखि ३ गते सम्म आयोजना हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिव ३५ लाख खर्च हुने परिषदले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय हुने महिला तथा पुरुष टिमलाई क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरुले जनही नगद रु २०–२० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडी ५–५ जनाले जनही नगद रु १०–१० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close