
पोखरा स्पोर्टस । “प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता” अन्तर्गत दोश्रो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।
बगर भाई खलक पोखराको आयोजनामा स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम भन्ने नाराका साथ पोखराको ऐतिहासिक तथा सांस्कृतिक खेल मैदान टुँडीखेलमा जारी प्रतियोगितामा पहिलो चरणका खेलहरु समपन्न भएका हुन् । प्रतियोगिताको दोश्रो दिन ६ खेलहरु सम्पन्न भएको र बिहिबारबाट प्रिक्वाटरका खेलहरु सञ्चालन हुने टेक्निकल कमिटिका सदस्य अनिश गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
बुधबार सम्पन्न पहिलो चरणका खेलमा लेक साइड भेट्रान, जोरपाटी भेट्रान काठमाण्डौ, फ्रिडम फाइटर बि काठमाण्डौ, गार्डेन एफसी पोखरा, नागासोती भेट्रान हेटौंडा, फ्रिडम फाइटर ए बिजयी भएका छन् ।
सम्पन्न खेलमा लेक साइड भेट्रान पोखराले पशुपती भेट्रान काठमाण्डौलाई ४–० ले पराजित गरेको छ । खेलका म्यान अफ दि म्याच समेत रहेका लेकसाइडका टेक बहादुर गुरुङले दुई गोल गर्दा नरेन्द्र आचार्य र मान बहादुर गुरुङले समान १–१ गोल गरे ।
काठमाण्डौको फ्रिडम फाइटर भेट्रानका दुवै टिम ए र बि ले आज सम्पन्न आ–आफ्ना खेल जितेका छन् । फ्रिडम फइटर ए ले पोखरा भेट्रानलाई टाइव्रेकरमा २–० ले पाखा लगायो । निर्धारित समय सम्म दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल टाइ व्रेकरमा धकेलिएको थियो । फ्रिडमका लागि तिलक गुरुङ र पोखरा भेट्रानका लागि नरेश केसीले निर्धारित समयमा टिमका लागि गोल गरेका थिए । फ्रिडमका किपर मानकाजी गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
यता अर्को एक खेलमा फ्रिडम फाइटर बि ले सुनवल भेट्रान नवलपरासीलाई १–० गोलले हराएको छ । खेलको म्यान अफ दि म्याच समेत रहेका विकर्ण श्रेष्ठले उक्त गोल गरेका थिए ।
हेटौडाको नागासोती भेट्रानले वौद्ध भेट्रान काठमाण्डौलाई १–० गोलले पराजित गरेको छ । उक्त खेलमा नागासोतीका सन्तोष बस्नेत म्यान अफ दि म्याच घोषित हुँदै ट्रफी प्राप्त गरे ।
आजका दुई खेलमा भने टँडीखेल भेट्रान काठमाण्डौ र सिमरा भेट्रानले वाक ओभर दिंदा जोरपाटी भेट्रान काठमाण्डौ र गार्डेन एफसी पोखरा बिजयी भएका छन् ।
‘स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नाराका साथ सुरु भएको उक्त प्रतियोगिता माघ ८ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारत देहरादुनको एक टिम सहित २४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी सहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने दुइ टिमलाई २०–२० हजार आयोजकले उपलब्ध गराउने बताएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ ।
