
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा सुरु भएको वडा १५ स्तरिय बृहत खेलकुद महोत्सवमा ९ सय बढी खेलाडीहरुले सहभागिता जनाएका छन् ।
महिला तथा पुरुषतर्फका विभिन्न ८ वटा खेलहरुमा ९ सय भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका हुन् । प्रतियोगिताको औपचारिक उद्घाटन बिहीबार पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बन विज्ञान अध्यायन संस्थानको मैदानमा बुधबारदेखिनै खेलको अनौपचारिक सुरुवात भएको छ । वडा १५ का वडाध्यक्ष तोरण बानियाँले रेफ्रि भक्त गुरुङ्गलाई बल हस्तान्तरण गर्दै अनौपचारिक रुपमा खेलको सुभारम्भ गरे । ‘औपचारिक उद्घाटन बिहीबार हुदैछ, सहभागि खेलाडी धेरै भएकाले तीन दिनमा प्रतियोगिता नसकिने भएपछि खेल शुरु गर्यौं’वडाध्यक्ष बानियाँले भने ।
प्रतियोगिता संयोजक समेत रहेका वडा सदस्य आशिष भण्डारीका अनुसार अन्तर क्लव फुटबलमा १७, विद्यालय स्तरियमा ५, महिला भलिबलमा ११, पुरुष भलिबलमा ९, रस्साकसीमा १८ टिमले भाग लिएका छन् । त्यस्तै ४० वर्ष माथिका महिला दौडमा ७१ जनाले, ५० वर्ष माथिको पुरुष दौडमा २६ जनाले तथा फरक क्षमता भएकाहरुको बास्केटबल प्रतियोगितामा २० जना खेलाडीले भाग लिएका छन् ।
वडाको युवा लक्षित कार्यक्रम अन्तर्गत बृहत खेलकुद महोत्सव आयोजना गरिएको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए । ‘स्वस्थ्य समाज निर्माण र आपसी भाइचारा सम्बन्ध प्रगाढ पार्न यो प्रतियोगिता आयोजना गरिएको हो’ भण्डारीले भने ।
यो कार्यक्रमलाई वडाको वार्षिक कार्यक्रममा राखेर वर्षेनी सञ्चालन गरिने अध्यक्ष बानियाँले बताएका छन् । प्रतियोगिता पौष ३० गते सम्म सञ्चालन हुने आयोजक वडा समितिले जनाएको छ ।
