
पोखरा स्पोर्टस । नेपालको सर्वाधिक लोकप्रिय स्पोर्टस वेयर व्राण्ड मध्येको ‘केल्मी’ले १७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहकार्य गर्ने भएको छ ।
आगामी फागुन ६ गते शनिवारका दिन आयोजना हुने नेपालकै जेठो म्याराथनलाई केल्मीले सहकार्य गर्ने भएको हो । केल्मीले लगातार दोश्रो पटक पोखरा म्याराथन संग सहकार्य गर्न लागेको हो । सो बारे पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरि प्रसाद पराजुली र केल्मीका लागि नेपालका अधिकृत विक्रेता कामरु ट्रेडिङ प्रा.लीका प्रवन्ध निर्देशक उत्तम न्यौपाने विच सहकार्य बारे सम्झौता भएको हो ।
नेपालका विभिन्न मुख्य खेलकुद संस्था र खेलाडीहरुको लोकप्रिय व्राण्डको रुपमा रहेको केल्मीले खेलकुद संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ । केल्मीले पोखरा अन्तर्राष्ट्रिय म्याराथन संग सहकार्य गर्ने भए पछि अध्यक्ष पराजुलीले खुसी व्यक्त गरेका छन् । उनले भने–“हामीले केल्मीको यो पटक पनि साथ पाउने भएका छौं । यसका लागिे कामरु ट्रेडिङ र टिमलाई विशेष आभार व्यक्त गर्न चाहन्छु ।”
यसै गरी केल्मीका अधिकृत विक्रेता कामरु ट्रेडिङका प्रवन्ध निर्देशक न्यौपानेले समेत खुसी व्यक्त गरेका छन् । उनले भने–“नेपाली अग्रज खेलाडीको आयोजनामा हुने नेपालकै जेठो म्याराथन संग जोडिन पाउँदा गौरव लागेको छ”, उनले थपे–“केल्मी अग्रज खेलाडीहरुको सम्मानका लागि समेत यो सहकार्य गर्दैछ ।” उनले पूर्व खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चले गर्ने हरेक कार्यक्रममा केल्मीको सहकार्य रहने प्रतिवद्धता समेत जनाए ।
