
पोखरा स्पोर्टस् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १४औं स्थापना दिवशको अवसरमा पोखरामा सम्मानसहित परम्परागत खेल ठेलो प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशको आयोजनामा सोमबार सम्मान कार्यक्रम सहित ठेलो प्रतियोगिता आयोजना हुन लागेको हो । सो बारे जानकारी दिंदै एकेडेमीका प्रदेश सह–संयोजक कृष्ण तिमिल्सिनाले पोखराका तिन छुट्टा–छुट्टै विद्याका अग्रजहरुलाई सम्मान गर्न लागिएको बताएका छन् ।
उक्त कार्यक्रममा फुटबलका पूर्व राष्ट्रिय फुटबल खेलाडी रुद्रनाथ अधिकारी, अग्रज खेल पत्रकार नारायण कार्की र कला संस्कृतितर्फ लोक नृत्यकार वुद्धी प्रसाद गुरुङ ‘गौरी गुरुङ’लाई सम्मान गरिने पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निर्देशक समेत रहेका तिमिल्सिनाले जानकारी दिए ।
यसै गरी सोही कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशस्तरिय खुला ठेलो प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद ३५ हजार, २५ र १५ हजार प्रदान गरिने सह–संयोजक तिमिल्सिनाले जानकारी दिए ।
उक्त कार्यक्रम गण्डकी प्रदेश सभाका सांसद तथा संघिय सरकारका पूर्व गृह मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।
