
पोखरा स्पोर्टस/ तस्विर : योगेन्द्र श्रेष्ठ । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज यूनाइटेड क्लब क्वाटरफाइनल प्रवेश गरेको छ ।
सहारा क्लबको आयोजनामा भएको २२ औं संस्करणको गोल्डकप अन्तर्गत पोखरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र अनन्त तामाङले १–१ गोल गरे ।
२५ औं मिनेटमा रबी पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७७ औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई १–१ गोलको बराबरीमा ल्याए । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको १ सय १० औं अनन्तले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए । अब चर्च ब्वाइजले क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका अन्जन विष्ट चुनिए ।
प्रतियोगितामा शनिबार धरान फुटबल क्लब र डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरीको एपिएफ बिच हुनेछ ।
