
पोखरा स्पोर्टस । नेपालका नं १ टेनिस खेलाडी प्रदिप खड्का मेन्सतर्फ र उमेन्सतर्फकी नं १ खेलाडी अभिलाषा विष्ट १९ औं माछापुच्छ्रे ओपन टेनिसको उपाधि नजिक पुगेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा उनीहरु उपाधि नजिक पुगेका हुन् । शुक्रबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न सेमीफाइलमा मेन्स ओपनतर्फ प्रदिपले रितिक रानालाई टाई ब्रेकरमा पराजित गर्दै फाइनलको यात्रा तय गरे ।
निकै संघर्षपूर्ण खेलमा नेपालका नं १ खेलाडी प्रदिपलाई चुनौती दिएका रितिकले पहिलो र दोश्रो सेट समान बराबरीमा ६–६ र ६–६ मा खेल्दै टाइव्रेकरमा धकेलेका थिए । तर दुवै सेटमा प्रदिप हावी हुँदै समान ७–६, ७–६ ले जित निकाल्दै उपाधि नजिक पुगेका छन् । फाइनलमा प्रदिपको भेट प्रनभ खनाल संग हुनेछ । प्रनभले अकि जुवेन रावतलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै मेन्स ओपनमा प्रदिप संग फाइनलमा भेट पक्का गरेका छन् ।
यता उमेन्स सिंगल्सतर्फको सेमीफाइनलमा नेपालकी नं १ खेलाडी अभिलाषा विष्टले सुनिरा थापालाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरी फाइनलको यात्रा तय गर्दा सर्भानी श्रेष्ठले प्रकृती श्रेष्ठलाई ६–४, ४–६ र ६–१ ले पराजित गर्दै अभिलाषा संग फाइनलमा आफ्नो भेट पक्का गरेकी हुन् । फाइनल खेल शनिबार तय गरिएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिएका छन् ।
डबल्स मेन्स फाइनल
डबल्स मेन्सतर्फको उपाधि नेपाल नं १ खेलाडी प्रदिप खडका र नेहाल जङ्ग बहादुर थापाको सम्मिलित जोडीले निशान श्रेष्ठ र रितिक रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छन् । खेलमा पहिलो सेट ७–६ ले जितेका प्रदिप र नेहालले दोश्रो सेट ६–२ ले जित्दै उपाधि हात पार्न सफल भए ।
६५ वर्ष माथि मेन्स भेट्रान्स सिंगल्स फाइनल
यस्तै शुक्रबार सम्पन्न ६५ वर्ष माथीको भेट्रान्स सिंगल्समा कमल थापाले विदुर विष्टलाई फाइनलमा पराजित गर्दै उपाधि जितेका छन् । कमल थापाले फाइनलमा ४–१, ४–० को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् ।
३५ वर्ष माथी मेन्स भेट्रान्स डबल्स फाइनल
प्रतियोगिता अन्तर्गत नै सम्पन्न ३५ वर्ष माथी मेन्स भेट्रान्स डबल्समा जितेन्द्र परियार र चेवाङ लामाको जोडीले कमल भण्डारी र यज्ञ भण्डारीको जोडीलाई सोझो सेटमा पराजित गर्दै सो उमेर समुहको खेलको उपाधि जिते । सम्पन्न फाइनलमा जितेन्द्र र चेवाङको जोडीले ६–३, ६–१ ले पराजित गरी उपाधि जितेका हुन् ।
त्यस्तै ३५ वर्ष माथी सिंगल्स सेमीफाइनलमा कमल भण्डारीले चेवाङ लामा लाई ६–३, ६–१ ले पराजित गरी उपाधि नजिक पुगेका छन् भने जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–३, ६–४ ले पराजित गर्दै कमल भण्डारी संग फाइनलमा आफ्नो भेट पक्का गरे ।
४५ वर्ष माथी मेन्स भेट्रान्स डबल्स फाइनल
१९ औं माछापुच्छ्रे टेनिस प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न ४५ वर्ष माथी मेन्स भेट्रान्स डबल्स फाइनलमा निमा लामा र भारतिय खेलाडी सम्मिलित टि तुलेश्वर सिंहको जोडीले उपाधि जितेको छ । फाइनलमा उनीहरुले विकास गुरुङ र शरण गुरुङको जोडीलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका थिए ।
४५ वर्ष माथीको सिंगल्सको सेमीफाइनलमा भने विमल गुरुङले शरण गुरुङलाई ६–१, ६–२ ले पराजित गर्दै विमल उपाधि नजिक पुग्दा उनी संग फाइनलमा रोहित सुनुवार संग भिड्नेछन् । रोहितले एक अर्को सेमीफाइनलमा भारतिय खेलाडी टि तुलेश्वर सिंहलाई ६–३, ६–४ ले पराजित गरेका थिए ।
५५ वर्ष माथी मेन्स भेट्रान्स सिंगल्स
५५ वर्ष माथी मेन्स भेट्रान्स सिंगल्सको उपाधि कृष्णराज घलेले जितेका छन् । फाइनलमा कृष्णराजले अनिल तुलाचनलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् ।
प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका थिए भने ९३ जना पोखरा खेलाडी बाहिरका । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धाहरु भएका थिए ।
प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङले जनाएका छन् ।
प्रतियोगितामा मेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
“१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ ।
फाइनल खेल शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।
