
पोखरा स्पोर्टस । पोखरामा जारी नेसनल प्याब्सन खेलकुद महोत्सव अन्तर्गत शुक्रबार विभिन्न खेलका फाइनल खेलहरु भएसंगै महोत्सव समापन हुने भएको छ । शुक्रबार विहानै देखि विभिन्न खेलहरुको फाइनल खेल सकिए लगत्तै दिउँसो औपचारिक रुपमा पोखरा रंगशालामा उक्त खेलकुद महोत्सव समापन हुने भएको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जनाएका हुन् ।
खेल महोत्सव अन्तर्गत कास्की मोर्डनाइज एकेडेमी दोहोरो उपाधि नजिक पुगेको छ । कास्की मोर्डनाइज एकेडेमीको सिनियर छात्र तर्फको टीम फुटवलमा र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनलमा पुग्दै उपाधि नजिक पुगेको हो । विहिबार पहिलो सेमिफाइनलको खेलमा कास्की मोडजाइज एकेडेमीले इम्यानुएल स्कुललाई २–० को शानदार जित निकाल्दै फाइनलमा यात्रा तय गर्यो । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा लिटिल फ्लावर स्कुलले चिल्ड्रेन एकेडेमी स्कुललाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो । फाइनल खेल शुक्रबार दिउसो हुने भएको फुटवल खेल संयोजक राजु केसीले बताए ।
त्यसै गरी जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनल खेलमा कास्की मोर्डनाइज एकेडेमी र गोर्खा बोर्डिङ स्कुल बिच शुक्रबार विहान ११ः३० बजे माछापोखरी खेल मैदानमा फाइनल खेल हुने भएको सेभेन ए साइड फुटवल प्रतियोगिता संयोजक हिमाल गुरुङले बताए । कास्की मोडनाइज एकेडेमीले नेश्नल क्रियसन स्कुललाई ३–२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनायो । अर्को खेलमा भने गोर्खा बोर्डिङले यूनिर्भसलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो ।
प्रतियोगितामा छात्र सिनियर फुटवल तर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको थियो ।
टेबल टेनिसमा कास्की मोर्डनाइज र यूनिभर्स विजयी
१३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत टेबलटेनिस प्रतियोगितामा छात्र एकल तर्फ कास्की मोडनाइज र छात्रातर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुल विजयी भएका छन ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा सम्पन्न प्रतियोगितामा छात्रतर्फ कास्की मोड्नाईज एकेडेमीका मञ्जित थापा प्रथम, गोर्खा बोर्डिङ स्कुलका विजय विक द्वितिय, त्रिवेणी एकेडेमीका प्रवेश विक र पुष्प सदन एकेडेमीका अनमोल थापा तृतिय भए ।
यस्तै छात्रा एकलतर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुलकी करुणा शर्मा प्रथम, साइनिङ स्टारकी सजिना राई द्वितिय हुँदा नेश्नल क्रियशनकी आस्था परियार र अल्फा एकेडेमीकी कृति गुरुङले तृतिय स्थान प्राप्त गरेको प्रतियोगिता संयोजक शिवराज पौडेलले जानकारी दिए ।
बुधबारबाट शुरु भएको प्रतियोगितामा छात्र–छात्रा गरेर ४२ विद्यालयले सहभागिता जनाएका थिए । विजयी खेलाडी तथा विद्यालयलाई भोलि (शुक्रबार) एक समारोहका विच शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
कास्की मोर्डनाइजलाई बास्केटबलमा उपाधि
कास्की मोडर्नाइज एकेडेमीले १३ औं नेशनल प्याब्सन कास्की खेलकुद महोत्सव २०७९ अन्तर्गत छात्र बास्केटबलको उपाधि जितेको छ ।
खेलकुद महोत्सव अन्तर्गत आज (विहीबार) भएको फाइनल खेलमा न्यू ग्यालेक्सी बोर्डिङ स्कूललाई २६ स्कोरका बिरुद्ध ४४ स्कोरले पराजित गरी कास्की मोडर्नाइडले बास्केटबलको उपाधि जितेको हो ।
न्यूग्यालेक्सी उपविजेता बनेको छ। त्यस्तै, सेमिफाइनलिस्ट त्रिवेणी बोर्डिङ स्कूल र लिटिल फ्लावर बोर्डिङ स्कूल तेस्रो बनेका छन्। सेमीफाइनलमा कास्की मोडर्नाइडले त्रिवेणी बोर्डिङ र न्यूग्यालेक्सीले लिटिल फ्लावरलाई हराउँदै फाइनल खेलेका थिए ।
एथ्लेटिक्सका ८ खेल सम्पन्न
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कास्कीको आयोजनामा भइरहेको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत एथ्लेटिक्सका ८ खेलहरु बिहीबार सम्पन्न भएका छन ।
बिहीबार भएको हाइ जम्प छात्रा सिनियरतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङकी जेशा भण्डारीले प्रथम स्थान ल्याउन सफल भइन् भने कास्की मोडनाइजकी सलिना आयरले दोश्रो र साइनिङ स्टारकी याङजी लामाले तेश्रो स्थान ल्याउन सफल भइन् । त्यस्तै हाइ जम्पकै छात्र सिनियर तर्फको फाइनल खेलमा कास्की मोडनाइजका कुशल गिरी प्रथम, न्यू लेखनाथ पब्लिकका बबिन बिक दोश्रो र अक्सफोर्ड स्कुलका अतिफ अहमद तेश्रो हुन सफल भए ।
त्यसैगरि हाइजम्प छात्र जुनियरतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङका समिर कुँवर, नेशनल क्रियशनका रितेश आले मगर र न्यू ग्यालेक्सीका दिनेश थापा क्रमशः प्रथम, दोश्रो र तेश्रो हुन सफल रहे । त्यस्तै हाइजम्प छात्रा जुनियरतर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीकी समिक्षा थापा प्रथम, मर्निङ ग्लोरीकी बिपाशा बिक दोश्रो र इम्यानुअल स्कुलकी रेबिका सिबि तेश्रो हुन सफल भइन् ।
बिहीबारनै भएको १०० मिटर सिनियर छात्रतर्फको फाइनल खेलमा कास्की मोडनाइजका प्रमोद थापा प्रथम हुन सफल भए भने हेम्जा बोर्डिङका अन्जोल कुवँर दोश्रो र लिटल फ्लावरका लव पोखरेल तेश्रो हुन सफल भए । त्यस्तै सोही खेलको छात्रातर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीकी कृष्ना क्षेत्री प्रथम, अक्सफोर्ड स्कुलकी पुर्णिमा भण्डारी दोश्रो र बड्स एकेडेमीकी नितु भण्डारी तेश्रो हुन सफल भइन् ।
त्यसैगरि १०० मिटर छात्र जुनियरतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङका समिर कुँवर, कास्की मोडनाइजका आयुश घले दोश्रो र सनराइज बोर्डिङका अंकित झाक्रि क्रमशः प्रथम, दोश्रो र तेश्रो हुन सफल भए । त्यस्तै १०० मिटर छात्रा जुनियरतर्फको फाइनल खेलमा त्रिबेनि एकेडेमीकी एन्जल अधिकारी प्रथम, लिटल फ्लावरकी कृष्टा गुरुङ दोश्रो र हेम्जा बोर्डिङकी गुन्जन परियार तेश्रो हुन सफल भइन् ।
मंसिर २३ गतेसम्म सञ्चालन हुने खेखकुद महोत्सवमा ४२ विद्यालयले सहभागिता जनाएका छन् । एथ्लेटिक्सका बाँकी रहेका फाइनल खेलहरु शुक्रबार सम्पन्न हुनेछ । विजयी खेलाडी तथा विद्यालयलाई शुक्रबार एक समारोहका विच शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
ब्याडमिन्टनमा कास्की मोर्डनाइज विजयी
१३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत ब्याडमिन्टन प्रतियोगितामा कास्की मोडनाइज एकेडेमी विजयी भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीले आयोजना गरेको प्रतियोगितामा कास्की मोडनाइज एकेडेमी छात्र तथा छात्रा एकल ब्याडमिन्टमा विजयी भएको हो ।
छात्रतर्फ कास्की मोडनाईज एकेडेमीका दीप राना प्रथम, गोर्खा बोर्डिङ स्कुलका लेलिन नेपाली द्वितिय, यूनिभर्स बोर्डिङ स्कुलका सिरिष बास्तोला र बड्स एकेडेमीका आयूष पहारी तृतिय भए ।
यस्तै छात्रातर्फ कास्की मोडनाइजकी सोनिका थापा प्रथम, अञ्जुली सेकेण्डरी बोर्डिङ स्कुलकी मेनुका पुन द्वितिय, त्रिवेणी पब्लिक स्कुलकी परिसा गुरुङ र ज्ञानज्योती विद्याकुञ्ज माविकी अन्सु गुरुङ तृतिय भएको प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।
बुधबारबाट शुरु भएको प्रतियोगितामा छात्रतर्फ ३२ र छात्रातर्फ ३० वटा विद्यालयले सहभागिता जनाएका थिए । विजयी खेलाडी तथा विद्यालयलाई भोलि (शुक्रबार) एक समारोहका विच शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
छात्रा भलिबलको सेमिफाइनल तथा फाइनल खेल शुक्रबार हुने
निजि विद्यालयहरुको छाता संस्था एन प्याव्सन कास्की द्वारा आयोजित खेल महोत्सव अन्तर्गत छात्रा भलिबल तर्फ सेमीफाइनल र फाइनल खेल शुक्रबार हुने भएको छ ।
तिन दिन देखि पोखरा रंगशालामा जारी प्रतियोगितामा अन्तिम चार टिमको टुङ्गो लागे संगै सेमीफाइनल र फाइनल खेल शुक्रबार आयोजना गरी एन प्याब्सन कास्कीले जनाएको हो । १३ औ एन प्याब्सन स्पोर्टस मिट अन्तर्गत जारी खेल महोत्सवमा भएको छात्रा भलिबलतर्फ ज्ञान ज्योती, वड्स एकेडेमी, नेश्नल क्रियशन र कास्की मोर्डनाइज्ड एकेडेमी अन्तिम चारमा पुगेका छन् ।
शुक्रबार हुने सेमीफाइनलमा पहिलो खेलमा ज्ञान ज्योतीले वड्स एकेडेमीको सामना गर्नेछ भने दोश्रो खेलमा नेशनल क्रियशन र कास्की मोडनाइड भिड्ने भलिबल प्रतियोगिताका संयोजक प्रकाश राज वाग्लेले जनाएका छन् ।
प्रतियोगिता अन्तर्गत ज्ञान ज्योतीले सिद्धार्थ लभडेललाई २–० को सोझो सेटमा र वड्स एकेडेमीले डायमण्डलाई २–० ले, नेशनल क्रियशनले अक्सफोर्डलाई २–० र कास्की मोर्डनाइजले त्रिवेणी पव्लिकलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेका हुन् । बिहिबार भलिबलतर्फ १० खेल सम्पन्न भएका छन् । शुक्रबार फाइनल खेल संगै तेश्रो स्थानका लागि खेल हुनेछ ।
यसै विच मंसिर २३ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि हुने भएको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए ।
