
पोखरा स्पोर्टस । खेलकुद विषय अध्ययन आफैमा अवसर प्राप्त गर्ने विषय हो । तर नेपालमा नै पहिलो पटक सुरु गरिएको स्नातकतह खेलकुद व्यवस्थापन विषय (विएसएम)मा भर्नाका लागि भने त्यति आकषर्ण बढेको नदेखिएको हो ।
नेपालमा नै गण्डकी विश्वविद्यालयले पहिलो पटक सुरु गरेको स्नातकतह खेलकुद व्यवस्थापन विषयमा दुई वर्ष अघि सुरुवात भयो । हरेक सेमेष्टरमा ४० जना कोट तोकिएकोमा पहिलो वर्ष १५ जना भर्ना भए । दोश्रो वर्षको पहिलो सेमेष्टर भर्ना झनै खस्कियो । जम्मा १२ जना भर्ना भए ।
अहिले विश्वविद्यालयले तेश्रो वर्षमा पहिलो सेमेष्टरमा भर्ना आह्वान गरेको छ । विश्वविद्यालयमा अध्यापन हुने अन्य विषयमा कोटा नाघे पनि खेलकुद व्यवस्थापनमा भने त्यसो हुन नसकेको विश्वविद्यालयका रजिष्टार डा. कैलाश तिमिल्सिनाले बताए । उनले भने–“हामीले पटक–पटक विएसएमका लागि भर्ना आह्वान गरेका छौं तर सोचे जस्तो भएको छैन । यो वर्ष त झनै भर्ना अवस्था कमजोर छ ।”
स्नातक तहमा खेलकुद व्यवस्थापन विषय नेपाली विद्यार्थीका लागि नौलो भए पनि विश्वका धेरे जसो देशहरुमा यो विषय निकै आकर्षणको रुपमा रहेको छ । “२०३८ सालमा ओभरसियरको पहिलो पटक भर्ना आह्वान हुँदा समेत नेपाली विद्यार्थीहरुलाई साइकलको लोभ दिएर भर्ना गर्ने चलन थियो । त्यती हुँदा पनि विद्यार्थीहरु भर्ना हुन आउँदैनथे” भन्छन–“गण्डकी विश्वविद्यालयका उपकुलपति डा. नवराज देबकोटा–“तर केही वर्षमा नै ओभरसियर अध्ययन गर्ने विद्यार्थीहरुको संख्या ह्वात्तै बढ्यो ।”
उपकुलपति डा.देवकोटाले कति विद्यार्थीहरु भर्नाका लागि विश्वविद्यलाय आए भन्ने खुलाउन नचाहे पनि उनले भने–“स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको समेत स्थिती करिव–करिव त्यस्तै हो । विद्यार्थी र अभिभावकहरुले यो विषय र यसको अध्ययनको पाटोको गम्भिर्यातालाई बुझ्न समय लागेको हो । हामीले विश्वविद्यालयमा भर्ना कोटा पुरा गरेर अध्यापन सुरु गर्छौं ।”
तर विश्वद्यिालयलाई भर्ना हुनेको पुरै कोटा पुर्याउन हम्मे–हम्मे परेको भने स्पष्ट देखिन्छ । अन्य विषयमा विद्यार्थी संख्याको कोटा पुरा भएर पनि अध्यापनका लागि तयारी भइ रहँदा विश्वविद्यालयले सामाजिक सञ्जालहरुमा विज्ञापन प्रकाशित गरेर दोश्रो पटक इन्ट्रान्स परिक्षाको सूचना प्रकाशित गर्नु परेको छ ।
नेपालमा स्नाकोत्तर तहमा खेलकुद विषय अध्यापन भइरहे पनि स्नाकोत्तर अध्ययनका लागि बलियो जगको रुपमा लिइएको स्नातकतहमा विद्यार्थीहरुको आकर्षण कमजोर हुनु भनेकै अध्ययन पछिको भविष्य के हो भन्ने बारे बुझाउन अठिन भएको विश्वविद्यालयका रजिष्टार डा तिमिल्सिनाले बताए । “यो विषयमा कसैले पनि ‘पोजिटिभली’ लिन चाहेनन्” उनले भने–“हामीले नवौं राष्ट्रिय खेलकुदमा सहभागि खेलाडीहरुका विच पनि यो विषय राम्रै संग प्रचार गरेका थियौं । तर पनि पनि खेलाडीहरु पनि भर्ना हुन आएनन् ।”
तर रजिष्टार तिमिल्सिनाले भने झै नवौं राष्ट्रिय खेलकुदमा विश्वविद्यालयले प्रचार नगरेको सहभागि खेलाडीहरुले बताए । गण्डकी प्रदेश सरकारबाट नेपालमा नै पहिलो पटक सुरु गरिएको गण्डकी विश्वविद्यालयमा स्नातक तहमा खेलकुदको अध्यापन सुरु भए संगै धेरै खेल विज्ञहरुले यसलाई स्वागत गरेका मात्रै थिएनन् उनीहरुले आफ्नो योगदान समेत दिएका थिए । पाठ्यक्रम निर्माण गर्ने देखि लिएर अन्य विषयमा पटक–पटक बहश गरेका थिए भने राष्ट्रिय रुपमा नै यसका प्रचारका लागि आफ्नो समय समेत खर्चेका थिए ।
विद्यार्थीहरुले अन्य विषय अध्ययन गरेर जता अवसर प्राप्त गर्न सहज हुन्छ त्यता वढि लगाव भएको रजिष्टार तिमिल्सिना बताउँछन । उनी भन्छन–“खेलकुद व्यवस्थापन अध्ययन गरेर के भइन्छ भन्ने प्रश्न यति बेला उनीहरुमा छ । नितिमा नै परिवर्तन गरी यसका लागि ठोस योजना बनाउन आवश्यक छ ।” अध्ययन पछि कम्तिमा विद्यालयहरुमा स्नातक तह अध्ययन गरेको खेलकुद वा फिजिकल टिचर अनिवार्य गर्ने हो भने आकर्षण बढ्न सक्ने उनको भनाई थियो ।
१२ कक्षा अध्ययन पछि उच्च शिक्षामा अध्ययन गर्न पाउने खेलकुद व्यवस्थापन विषयमा समेत विश्वविद्यालय त्यती गम्भिर नबनेको स्पष्ट देखिन्छ । विश्वविद्यालयले अभिभावक र विद्यार्थीहरु सम्म यस विषयलाई गम्भिर रुपमा अघि बढाएमा पक्कै पनि ४० जनाको कोटामा विद्यार्थीहरु सहज रुपमा भर्ना हुन सक्छन् । यसका लागि कास्की बाहिरबाट आउने विद्यार्थीहरुकालागि उचित होस्टलको व्यवस्थापन संगै उनीहरुलाई थप आकर्षण गराउने कार्यक्रमहरु विश्वविद्यालयले अगाडी बढाउनु पर्ने हुन्छ ।
