‘सबै खेलाडी देशका कमान्डो’

पोखरा स्पोर्टस । सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न १० औं एसियाली खेलकुदका कांस्य पदक विजेता तेक्वान्दो खेलाडी राजकुमार राईले सबै खेलाडी देशको कमान्डो भएको बताएका छन् । उनी अभिनित नेपाली चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रिजर रिलिज तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता राईले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम उँचो बनाउने काम खेलाडीले गर्ने भएकाले उनीहरु हरेक देशका सच्चा कमान्डो भएको बताए । ‘विश्वमा देशलाई चिनाउने र राष्ट्रको झण्डा फहराउने काम त्यहाँका खेलाडीले गर्छन् । त्यसैले खेलाडीहरु हरेक देशका कमान्डो हुन्’, राईले भने ।

आधुनिक कालको फकल्यान्ड युद्ध वा अफगानिस्तानमा तालिबानविरुद्धको लडाई, गोर्खालीले देखाएको साहस र बहादुरीको बखान अहिले हुने बताउँदै उनले गोर्खाली सेनाको बहादुरी, साहस र जीवन संघर्षलाई आधार बनाएर नेपाली चलचित्र ‘सोल अफ द कमान्डो’ निर्माण गरिएको जानकारी दिए । उनले सन् १९९८ मा निर्माण भएको ‘द कमान्डो’ चलचित्रलाई आधार बनाएर ‘सोल अफ द कमान्डो’ निर्माण गरिएको बताए ।

युवराज राईको निर्देशनमा बनेको निर्माण भएको ‘सोल अफ द कमान्डो’ आगामी मंसिर २३ गतेबाट नेपाल अधिराज्यभर एकैसाथ प्रदर्शन हुँदैछ । चलचित्रमा राजकुमार राईसँगै कमला खापुङ लिम्बू, सेसुका राई, शिशिर वाङ्देल, नरेन खड्का, संगीता लावती, पुष्पा श्रेष्ठ, एञ्जल राई, पूर्ण लिम्बू, नरेन्द्र लिम्बू, रुपेश झा, टिकाराम ठकुरी, सोनिका राई, सीमा राईलगायतको अभिनय छ । ‘सोल अफ द कमान्डो’को निर्मातामा विजया राई, रवि थापा, मिलन राई र डेनी लिम्बू छन् । चलचित्रमा एनबी महर्जन र सानुकुमार महर्जनको द्वन्द्व, सिमोन राजवंशीको कोरियोग्राफी र दीर्घ गुरुङको छायांकन छ ।

ट्रिजर रिलिज कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ, नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठलगायत ‘सोल अफ द कमान्डो’ का निर्माता, कलाकार, प्राविधिक र खेलाडीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close