नेपालगञ्ज म्याराथन : नगरवाशीहरुले अपनत्व वोध गरेका छन्–महानायक हमाल

पोखरा स्पोर्टस । नेपालगन्ज म्याराथनलाई त्यहाँका नगरबासीले अपनत्वबोध गरेको आफूले अनुभव गरेको नेपाली सिनेजगतका महानायक राजेश हमालले बताएका छन् ।

नेपालगन्ज म्याराथन शुक्रबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा हमाल गत वर्ष आफू नेपालगन्ज म्याराथनमा सहभागी हुँदा त्यसको माहोलबाट प्रभावित भएको बताएका हुन् । उनले प्रतियोगीताले शहर र देशलाई नै अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रुपमा लिनसक्नु पर्ने पनि बताएका छन् ।

सोही अवसरमा एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट नेपालगन्ज म्याराथनलाई प्राप्त सदस्यता पत्र हमालले नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई हस्तान्तरण गरेका थिए । नेपालगन्ज म्याराथन एम्सबाट रुट प्रमाणित संगै एम्सको सदस्यता प्राप्त एक मात्र नेपालको म्याराथन हो । त्यसैको जानकारी दिने उद्देश्यले आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । नेपालगन्ज संगै काठमाडौं र पोखरा म्याराथनको रुट समेत एम्सबाट प्रमाणित भएको छ ।

नेपालगन्ज उप महानगरपालिकाका मेयर विष्टले नेपालगन्ज उपमहानगर नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार रहेको बताएका थिए । कोहलपुर नगरपालिकाका मेयर आचार्यले पनि म्याराथनको अपनत्वबोध भएकाले स्थानीय सरकारबाट गर्न सक्ने सहयोगका लागी आफूहरु त्यार रहेको बताए ।

नेपालगन्ज म्याराथनका संरक्षक सदस्य रघुराज वन्तको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा धावक गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले नेपालगन्ज म्याराथनमा सहभागी हुँदाको अनुभव सुनाउँदै नेपालगन्ज म्याराथनको रुट अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट रहेको बताएका थिए ।

नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टि.एस.ठकुरीले नेपालगन्ज म्याराथनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको बताएका थिए । उनले भने–“सर्वप्रथम, तपाईहरुसँग खुशी बाँड्न चाहन्छौं । तपाईंहरुको स्नेह, साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको छ । यसको सम्पुर्ण श्रेय सरोकारवालालाई दिन चाहन्छौं ।”

उनले नेपालबाट नेपालगन्ज म्याराथनले एम्स बाट सदस्यता प्राप्त गर्न सफल भइ एम्सको क्यालेन्डर र डाइरेक्टरीमा सुचिकृत भएको बताउँदै यो सबैका लागि खुशीको कुरा रहेको उल्लेख गरे ।

हरेक वर्ष आयोजना हुने नेपालगन्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर २४ गते शनिबार हुने भएको छ । हरेक बर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी द्रुत गतिमा अगाडि बढाएका छौं ।

गत बर्ष झैं यस बर्ष पनि बिभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिएको छ । कर्पोरेटतर्फ महिला यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।

साथै बिभिन्न विधालाई समेट्दै पुरस्कृत गरिनेछ । सहभागिता एवं भव्य बनाउने आधारमा शैक्षिक संघसंस्था, क्लब, आमा समुह, वडा समिति, बिभिन्न भेषभुषा र कला सम्बन्धि बिषयमा समेत मुल्यांकन गरी पुरस्कृत गरिने र केही नगद पुरस्कार राशीमा वृद्धि गरिने आयोजकले जनाएको छ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिने आयोजको भनाईछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close