नवौं राष्ट्रिय खेलकुद : ४० जना खेलाडीहरु एन्टि डोपिङ परिक्षणमा

पोखरा स्पोर्टस । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न खेलका ४० जना खेलाडीहरुको एन्टि डोपिङ गरिएको छ ।

राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक यो अभ्यास गरिएको हो । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा एन्टि डोपिङ सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद अन्तर्गत गठित एन्टि डोपिङका उपसमितिका सचिव डा. ज्ञानेन्द्र शाहले जानकारी दिएका छन् । उनले भने–“राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक यो अभ्यास सुरु भएको छ । यसले नेपाली खेलकुदको स्वच्छ अभियानको मुल मर्मलाई अघि बढाउन सहयोग पुग्ने छ ।”

पोखरामा जारी राष्ट्रिय प्रतियोगिता अन्तर्गत विभिन्न खेलका ४० जना खेलाडीहरुको नमुना लिइएको डा. शाहले बताए । “यो निकै संवेदनशिल विषय हो । हामीले गरेको नमुना संकलन कुनै पनि दक्षिण एसियाली खेलकुदको इतिहासमा धेरै हो,” दक्षिए एसिया एन्टि डोपिङका सदस्य समेत रहेका डा. शाहले भने–“हामीले गरेको नमुना संकलनहरु कतार पठाएका छौं । नतिजा प्राप्त हुन केही समय कुर्नु पर्ने हुन्छ ।”

असोज २८ गते उद्घाटनका खेलबाट नै नमुना संकलन थालिएको डा. शाहले बताए । एन्टि डोपिङको अन्तराष्ट्रिय संस्था वाडाको निर्देशनमा नमुना संकलन गरिएको उनले बताए । उनले भने–“हामीले वाडाको निर्देशनमा यो नमुना संकलन गरेका हौं । धेरैले सुझावहरु दिनुभएको थियो । तर हामी वाडाको निर्देशनमा चल्नु पर्नु भएकोले सोही अनुसार गरेका छौं ।” उनले यो परिक्षणले खेलाडीहरुले आफूले प्रयोग गर्ने औषधी र खाने कुरामा वढि ध्यान दिनुपर्ने उनको भनाई थियो ।

“खेलाडीले पदक जित्न शक्तिवर्द्धक औषधी प्रयोग गरेका इतिहास मात्रै होइन, एन्टि डोपिङबाट पदक खोसिएको इतिहास पनि हामी संग छ”, डा. शाहले भने–“अव नेपाली राष्ट्रिय खेलाडीहरुले आफ्नो खेलको प्रदर्शनको सुधार शक्तिवर्द्धक औषधीको प्रयोगबाट नभई आफ्नै क्षमतामा निर्भर हुनुपर्छ ।” खेलाडीले जितेको पदक र खेललाई समेत आधिकारिकता दिन एन्टि डोपिङको समेत विशेष भूमिका हुने उनले बताए । पोखरामा जारी राष्ट्रिय प्रतियोगितामा एन्टि डोपिङका लागि दक्षिण एसियाली एन्टि डोपिङ संस्थाले सहयोग गरेको उनले जानकारी दिए ।

राखेपले एन्टि डोपिङका लागि डा नविशमान सिंहको संयोजकत्वमा ६ सदस्यिय कमिटि बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close