
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ ।

बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले बागमती प्रदेशलाई ४५–३० ले हराउँदै स्वर्ण जितेको हो । हारसँगै बागमती प्रदेशले रजत पदकमा चित्त बुझायो ।
प्रतियोगिताको पहिलो र दोस्रो चरणमा त्रिभुवन आर्मीले १०–८ र १४–७ को अन्तर कायम गरेको थियो । तेस्रो चरणमा भने बागमतीले उत्कृष्ट खेल प्रदर्शन गरि १२–८ को अन्तर बनायो । अन्तिम चरणमा बागमतीको कमजोर खेल प्रदर्शनको फाइदा उठाउँदै आर्मीले १३–३ को फराकिलो अन्तर बनायो । आर्मीको जितमा प्रतीक्षा मगरले ११ अंक जोडेकी थिइन ।
सेमिफाइनल खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई र आर्मीले गण्डकी प्रदेशलाई हराउँदै फाइनलको यात्रा तय थियो ।
यसै गरि थ्री बाइ थ्री महिला बास्केटबलमा एपीएफले स्वर्ग पदक हात पारेको छ भने त्रिभुवन आर्मीले रजत पदक हात पारेको छ ।
