
पोखरा स्पोर्टस । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको महिला डबल्सतर्फ बागमती प्रदेशको प्रकृति र रायनाको जोडीले सेनाको इशा र सुभांगीको जोडीलाई ६–३,६–४ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
त्यसैगरी सेनाका अभिलाशा विष्ट र इरा एमआरको जोडीले ६–३,६–३ को सेटमा एपिएफका सुनिरा र सर्भानीको जोडीमाथि जित निकाल्दै फाइनलको यात्रा तय गरेको नेपाल टेनिस संघका कार्यालय प्रमुख प्रविन देवकोटाले जानकारी दिए ।
मिक्स डबल्सतर्फ पुलिसका आर्यन र आइशा डिजीको जोडीले सेनाका गोविन्द र इशाको जोडीलाई ६–३,६–२ सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ । यसैगरी सेनाको प्रनभ र अभिलाशाको जोडीले एपिएफका सन्तोष र सर्भानीको जोडीलाई ६–३,६–२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।
पुरुष एकल विधामा नेपालका पहिलो र दोस्रो बरियताका दुबै खेलाडीले सेमिफाइनलको यात्रा गरेका छन् ।
पोखरा रंगशालाको टेनिस कोर्टमा आज भएको प्रतिस्पर्धामा नेपालको पहिलो बरियताका खेलाडी गण्डकी प्रदेशका प्रदीप खड्काले नेपाली सेनाका अकी जुवेन रावतलाई ६–४, ६–० को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।
त्यसैगरी दोस्रो बरियताका खेलाडी सेनाका प्रनभ खनालले बागमी प्रदेशका निशान श्रेष्ठलाई ६–४, ६–२ को सेटमा पराजित गरे ।
पुरुष एकलतर्फको प्रतिस्पर्धामा एपीएफका सन्तोष खत्री र एनआरएनका आरभ सम्राट हाडा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरे । उनीहरुले क्रमश: पुलिसका प्रनभ मानन्धर र लुम्बिनीका रितिक लामामाथि जित हासिल गरे ।
महिलाएकलतर्फ नेपालको पहिलो बरियताका खेलाडी अभिलाशा विष्ट सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले एपिएफका सुनिरा थापालाई ६–२,६–१ को सेटमा पराजित गरे ।
त्यसैगरी महिलाएकलतर्फ बागमतीका रायना शाहले पुलिसका प्रशंसा मोक्तान, बागमतीका प्रकृति श्रेष्ठले एपिएफका आइसा डोल्कर र सेनाका इरा रावतले एपिएफका सर्भानी श्रेष्ठलाई पराजित गरी अन्तिम चारमा स्थान पक्का गरे ।
पुरुष डबल्सतर्फ गण्डकी प्रदेशको दुई टोली सेमिफाइनल पुगेको छ । प्रदीप खड्का र अनिल शाहीको जोडीले लुम्बिनी प्रदेशका रितिक र सक्षम विएसको जोडीलाई पराजित गदैै सेमिफाइनल पुग्दा गण्डकीकै आशिष कार्की र सौगात विकेको जोडीले प्रहरीका प्रनभ मानन्धर र आर्यन गिरीको जोडीलाई पराजित गरी सेमिफाइनल प्रवेश गर्न सफल भए ।
