
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बिहिबार भएको पुरुष फुटबलको दोस्रो खेलमा बागमतिले मधेश प्रदेशलाई २–० गोल अन्तरले हराएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि बागमतिले दोस्रो हाफमा २ गोल गर्दै सहज जित निकालेको हो । बागमतिका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गरे । खेलको दोश्रो हाफको ३९ औं मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतिका लागि दोश्रो हाफको ५४ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टि मार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको पहिलो हाफमा मधेश प्रदेशले बागमतिलाई निकै दबाबमा राखेपनि गोल गर्न नसक्दा हार व्यहारेको हो । बिहिबारको पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोलअन्तरले पराजित गरेको थियो ।
प्रतियोगिता अन्तरगत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदुरपश्चिम बीच दोस्रो खेल हुनेछ ।
