
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा १२ विधामा प्रतिष्पर्धा हुने भएको छ । फुल कन्ट्याक्ट कराँतेमा पुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा प्रतिष्पर्धा हुन भएको हो ।
यो खेलकोे बिहीबार साँझ उद्घाटन गर्ने कार्यक्रम रहेकोे नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको फुल कन्ट्याक्ट कराँते खेल सहसंयोजक दीपक गोदारले जानकारी दिए । उनका अनुसार पोखराको प्रदर्शनी केन्द्रमा खेलहरु हुनेछन् ।
यो खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआरनए गरी ११ टिम सहभागी छन् । गोदारका अनुसार महिलातर्फ ३५—४०, ४०—४५, ४५—५०, ५०—५५ केजी तौल र खुुल्ला तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने पुरुषमा ३५—४०, ४०—४५, ४५—५०, ५०—५५, ५५—६०,६०—६५ केजी तौल र खुल्ला तौलम समूहमा प्रतिष्पर्धा हुनेछ । बिहीबार र शुक्रबार राउन्डका खेलहरु हुनेछन् भने शनिबार फाइनल खेल हुने गोदारले बताए । प्रतियोगितामा सहभागी टिममा १२ जना खेलाडी, २ जना कोच र एक जना टिम मनेजर छन् । प्रतियोगिता सम्पन्न गर्न जुरी र रेफ्री गरी ५० जना खटिएका छन् । अन्तर्राष्ट्रिय स्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिष्पर्धा गराइने गोदारले बताए ।
सातौं र आठौं राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बनेको गण्डकी यो पटक पनि च्याम्पियन बनेर ह्याट्रिक गर्ने दाउमा छ । ७ र ८ औं राष्ट्रिय खेलकुदमा फुुल कन्ट्याक्ट कराँतेमा स्वर्ण पदक जितेका रुपक नेपाली पनि यो पटक पनि स्वर्ण जितेर ह्याट्रिक गर्ने दाउमा छन् । रुपक गण्डकीबाट खेल्दैछन् । महिलातर्फ आठौंमा स्वर्ण जितेकी सरगम कुमाल गण्डकीबाट खेलमा सहभागी छन् ।
