नवौँ राष्ट्रिय खेलकुद : भोलिदेखि महिला हक्की खेल सुरु हुँदै

पोखरा स्पोर्टस । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्की खेल भोलिदेखि सुरु हुने भएको छ । गण्डकी बोर्डिङ स्कुलमा भोलिदेखि महिला हक्की खेल सुरु हुने भएको हो ।

भोलिदेखि सुरु हुने उद्वघाटन खेलमा सुदुरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै भोलि नै घरेलु टिम गण्डकी प्रदेशपनि मैदानमा उत्रिदै छ । दोस्रो खेलमा गण्डकी प्रदेश र प्रदेश १ भिड्दै छन् ।

लिग कम नकआउट आधारमा संञ्चालन हुने प्रतियोगिताको ‘पुल ए’मा सुदुर पश्चिम, मधेश प्रदेश, बागमती र विभागीय टिम नेपाल आर्मी रहेका छन् । यस्तै ‘पुल बि’मा घरेलु टिम गण्डकी, लुम्बिनी र प्रदेश १ रहेका छन् ।

सात टिम सहभागि रहेको महिला हक्कीमा असोज २७ देखि कार्तिक २ गतेसम्म एक साता चल्ने छ । प्रत्येक दिन जम्मा दुई टिमबीच प्रतिस्पर्धा गराइने छ । प्रतियोगिताको दोस्रो दिन मधेश प्रदेश र नेपाल आर्मीबिच प्रतिस्पर्धा हुँदा लुम्बिनी प्रदेश र गण्डकी मैदानमा उत्रिदै छन् । यस्तै तेस्रो दिन बागमती प्रदेश र नेपाल आर्मीबिच प्रतिस्पर्धा हुँदा सुदुरपश्चिम र मधेश प्रदेश भिड्दै छ । यता प्रतियोगिताको चौथो दिन नेपाल आर्मी सुदुरपश्चिम प्रदेशसँग भिड्दै छ भने प्रदेश १ र लुम्बिनी प्रदेश मैदानमा उत्रिदै छन् ।

त्यस्तै पाँचौँ दिन मैदानमा बागमती प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको सेमिफाइनलमा ‘पुल ए’को विजेता र ‘पुल बि’को उपविजेतासँग प्रतिस्पर्धा हुने छ । यस्तै सोही दिन ‘पुल बि’ को विजेता र ‘पुल ए’ को उपविजेताबीच सेमिफाइनलको लागि प्रतिस्पर्धा हुने छ । तेस्रो स्थानको खेलपछि फाइनल खेल कार्तिक २ गते हुनेछ ।

यसअघि नेपालगञ्जमा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीमा स्वर्ण पदक सुदुरपश्चिम प्रदेशले जितेको थियो भने रजत पदक गण्डकीले तथा कास्य पदक विभागिय टिम आर्मीले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close