पोखरा म्याराथन रुटले पायो अन्तर्राष्ट्रिय मान्यता

पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथन रुटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।

एसोसियशन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिस्टेन्स रेसेस (एम्स)ले पोखरा अन्तर्राष्ट्रिय म्याराथन रुटलाई आधिकारिकता प्रदान गरेको हो । एम्सले म्याराथन ४२.१९५ किमि, १० किमि र २१ किमि (हाफ म्याराथन)लाई आधिकारिकता प्रदान गरेको हो ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रुट मापन नहुँदा लामो १६ औं संस्करण सम्म आयोजना सम्पन्न भएको दौडमा आधिकारिता विवाद हुँदै आएको नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । “यो हाम्रो लागि निकै गौरवको विषय हो । पोखरा म्याराथन रुटले आधिकारिकता पाएको छ । अव हामी ढुक्क भएर रुटको विषयमा बोल्न सक्छौं ।”

एम्सका प्रतिनिधि अमिर शान्डीवानले गत भदौमा नेपाल आएर पोखरा म्याराथन सहित, काठमाण्डौ म्याराथन र नेपालगञ्ज म्याराथनको रुट मापन गरेका थिए । पोखरा म्याराथन पोखरा रंगशालाबाट सुरु भएर रुट पोखरा महानगर पालिकाका १७ वटा वडाहरु हुँदै पुनः पोखरा रंगशालामा नै पुगेर सम्पन्न हुने छ ।

पोखरा अन्तर्र्राष्ट्रिय म्याराथन यो वर्ष फागुन ६ गते शनिबार हुने तय भएको छ । यो संगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरुलाई आर्कषित गर्न आयोजक मञ्चले पुरस्कार राशीमा समेत वृद्धि गर्ने अध्यक्ष पराजुलीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close