
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले जित दर्ता गरेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो । बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे ।
पहिलो खेलमा विभागीय आर्मीसँग ८–४३ ले हार व्यहोरेको बागमतीले यो जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ । लगातार दोस्रो खेल हारेको मधेश भने अंकविहीन छ । मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो ।
पुरुष ह्याण्डबलमा लुम्बिनीको पहिलो जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ ।
समूह ‘बी’ को प्रतिस्पर्धात्मक खेलमा लुम्बिनीले प्रदेश–१ माथि २९–२४ ले जित निकालेको हो। जितसँगै लुम्बिनीले महत्वपूर्ण ३ अंक बटुल्न सफल बनेको छ । लुम्बिनीका शरण थापाले सर्वाधिक १५ गोल गरे ।
पहिलो खेलमा लुम्बिनीले विभागीय सशस्त्रको एपीएफसँग ३६–१३ ले हार व्यहोरेको थियो। प्रदेश–१ भने जितविहीन बनेको छ । प्रदेश–१ ले आफ्नो पहिलो खेलमा सुदूरपश्चिमसँग २९–१५ ले हार व्यहोरेको थियो ।
महिला ह्याण्डबलमा एपीएफको दोस्रो जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले दोहरो जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा खेलेको आफ्नो दोस्रो खेलमा एपीएफले लुम्बिनीलाई ४०–४ ले जित निकालेको हो। जितसँगै एपीएफले ६ अंक जोड्न सफल भएको छ । एपीएफका लागि बन्दना राईले सर्वाधिक १० गोल गरिन् । दुवै खेलमा पराजित लुम्बिनी प्रदेश भने अंकविहीन छ ।
