
पोखरा स्पोर्टस/तस्विरः विबेक लोप्चन । पोखरा महानगर पालिकाले आजबाट फेवाताल सरसफाई अभियान सुरु गरेको छ । पोखरामा नवौं राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यामा ताल सरसफाई अभियानलाई अघि बढाएको हो ।

पोखरा महानगरपालिकाले मंगलबारदेखी छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाई अभियानलाई अघी बढाएको छ । सो अभियानमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंक लाल घिसिङ फेवाताल सफाई महाअभियानमा जुटेका छन् । सो अवसरमा उनले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्वसन्ध्यामा ताल सरसफाइ अभियानमा जुट्न पाउनु गर्वको बिषय रहेको बताउँदै सम्पदाहरुको संरक्षणको लागि सबैको सहभागिता अपरिहार्य रहनुपर्नेमा जोड दिए ।
ताल सफाइ कार्यक्रममा ३३ वटै वडाका वडाध्यक्षहरु, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यहरु, नवौँ राष्ट्रिय खेलकुदका सचिवालय सदस्यहरु, नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत संस्था र व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
यस अघि फेवाको जलकुम्भी झार निकाल्न महानगरले छुट्टै मेसिन किनेको थियो । तर, मेसिनले प्रभावकारी काम गर्न सकेको छैन । राष्ट्रिय आविष्कार केन्द्रले यस्तै मेसिन बनाउन पहल थालेको छ । इन्जिनियरिङ अध्ययन संस्थानका इन्जिनियरहरुलाई मेसिन बनाउने जिम्मा दिइसकिएको मेयर धनराज आचार्यले बताए ।
