
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश कुमार गुरुङले आफ्नो उपसमितिलाई समन्वय नगरिएको बताएका छन् ।
गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गते हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गठित उपसमिति मध्येको एक महत्वपूर्ण उपसमितिका संयोजक गुरुङले यस्तो बताएका हुन् । पोखरा स्पोर्टस संग कुरा गर्दै राखेपका सदस्य समेत रहेका गुरुङले भने–“सबै उपसमितिहरुका लागि खर्च गर्ने रकम तोकिएको छ । सोही अनुसार उपसमितिले रकम समेत प्राप्त गरेका छन् । तर प्रतियोगिताको महत्वपूर्ण अङ्ग रहेको खेलस्थल व्यवस्थापन उपसमितिलाई भने कुनै रकम पठाइएको छैन ।”
खेलस्थल व्यवस्थापनका लागि १ करोड विनियोजन गरिएको तर रकम नआउँदा काम गर्न समस्या भएको संयोजक गुरुङले बताए । “सबै उपसमितिलाई रकम पठाइएको छ । तर जुन उपसमितिले दुई महिना अघि देखि आफ्नो काम सुरु गरेको थियो तर अहिले रकम उपसमितिलाई नपठाएर सोझै पठाउने भन्ने थाहा पाएको छु ।” पोखरा रंगशालामा मर्मत सम्भार गर्न लागिएको भलिवल कोर्ट, वहुउद्धेश्यिय कभर्डहलको लाइट मर्मत लगायत अन्य निर्माणका काम पनि आफूलाई थाहै नदिई केन्द्रबाट नै सोझै काम लगाइएको उनले बताए ।
“हामीले नवौं राष्ट्रिय खेलकुद हुने सातै जिल्लामा पुगेर निकै मेहनतका साथ काम गरेका छौं” उनले भने–“हाम्रो कामको सदस्य सचिव ज्यूले प्रशंसा पनि गर्नु भएको छ । तर उपसमितिलाई विश्वास नगरी हामीलाई ओभरल्याप गरिएको छ ।” कतिपय स्थानमा भइरहेका काम बारे उपासमितिलाई कुनै जानकारी नै नदिएको उनको गुनासो थियो । उनले भने–“न त काम बारे हामी संग कुनै समन्वय नै गरिएको छ न त उपसमितिमा पैसा नै आएको छ । यसरी ओभरल्याप गरेर काम गर्दा सोचे जस्तो नतिजा नआउन सक्छ ।” उनले यस बारे बारम्बार राखेप सदस्य सचिवलाई जानकारी गराएको बताउँदै यसरी भइरहेका काम बारे आफ्नो उपसमितिले कुनै जिम्मेवारी नरहेको खुलासा गरे ।
नवलपुर, तनहुँ, स्याङजा, बागलुङ, म्याग्दीमा पालिकाहरु संग मिलेर खेलस्थल निर्माणलाई पूर्णता दिने काम भइरहेको उनले बताए । “राखेपले खेलस्थल पूर्वाद्धारका लागि स्थानिय सरकारको सहयोग रह्यो भने सहज हुने कुरा ल्यायो । हाम्रो टिमले सोही अनुरुप आफ्नो योजना पनि बनायौं । म सबै पालिकाका प्रमुख ज्यूहरुलाई आभार व्यक्त गर्न चाहन्छु ।”
गण्डकी प्रदेशमा ३९ वर्ष आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन सबै एकजुट हुनु पर्ने बताउँदै संयोजक गुरुङले दशैं तथा दिपावलीको अवसरमा सबैलाई शुभकामना समेत दिए ।
