
पोखरा स्पोर्टस । नवौं राष्टिय खेलकुद प्रतियोगिता सफल बनाउन पोखरा महानगर प्रतिवद्ध रहेको मेयर धनराज आचार्यले बताएका छन् ।

पाृेखरा महानगर पालिकाद्वारा आयोजित वडा अध्यक्षहरुको एक छलफल कार्यक्रममा उनले प्रतिवद्धता जनाएका हुन् । सो अवसरमा बोल्दै मेयर आचार्यले भने–“हामी नवौं राष्ट्रिय खेलकुदको ‘होस्ट’ शहर हौं । नवौं राष्ट्रिय खेलकुद पोखरा केन्द्रित हुनु हाम्रो लागि गौरवको विषय हो । पोखरा महानगर नवौं सफल बनाउन प्रतिवद्ध छ ।” उनले वडा अध्यक्षहरुलाई नवौं सफल बनाउन के गर्ने भन्ने बारे सोच्न आग्रह गर्दै आ–आफ्नो वडाको सरसफाई लगायतका विषयमा विशेष ध्यान दिन आग्रह समेत गरे ।
पोखरा महानगरकोतर्फबाट समन्वय गर्न पोखरा महानगर वडा नं १५ का अध्यक्ष तोरण बहादुर बाँनिया र वडा नं ३ का अध्यक्ष प्रकाश उदासलाई जिम्मेवारी दिएको बताउँदै प्रदेश खेलकुद परिषद गण्डकी संग नवौं सफल बनाउने विषयमा केही चरणका छलफलहरु समेत भइसकेको मेयर आचार्यले जानकारी दिए । उनले पोखरा आउने खेलाडी, अफिसियल र पाहुनाहरुलाई स्वागत गर्ने संगै यातायात, वसोवास र खानपिनमा विशेष छुट दिन पर्यटन र यातायात व्यवसायीहरु संग छलफल गरिने बताए ।
नवौं राष्ट्रिय खेलकुद सफल बनाउन पोखरा रंगशालाको मिडिया सेन्टरको व्यवस्थापन, तथा प्रचार प्रसारका लागि डिजिटल प्रविधिको प्रयोगका लागि पोखरा महानगरले विशेष ध्यान दिने बताउँदै मेयर आचार्यले सवै पोखरेलीहरुलाई सम्मानजनक रुपमा खेल हेर्ने सुविधाका लागि आयोजकले ध्यान दिन आग्रह गरे । उनले पोखराका टोल सुधार र आमा समुहरुलाई खेल हेर्न विशेष पासको व्यवस्था गर्न समेत आयोजकलाई आग्रह गरे ।
राष्ट्रिय खेलकुदमा पोखरा महानगरका खेलाडीले पदक जितेमा तत्कालै सम्मान गर्ने उनले घोषणा समेत गरे ।
सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पोखरा महानगरको भूमिका महत्वपूर्ण हुने बताए । उनले पोखरा महानगर नवौं राष्ट्रिय खेलकुदको केन्द्र समेत रहेकोले खेलाडी लगायत पाहुनाहरुको आतिथ्यताका लागि महानगरको भूमिकाको अपेक्षा रहेको बताए । उनले असोज १ गतेबाट नै गण्डकी प्रदेशका खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भइसकेको बताउँदै ३६ र २ प्रर्दशनी खेल सहित गण्डकी प्रदेशले ३८ खेलमा सहभागिता जनाउने बताए ।
कार्यक्रममा पोखरा महानगरका सबै वडा अध्यक्षहरु, पोखरा महानगरका प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रदेव भारती, प्रदेश खेलकुद परिषदका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
