नवौं राष्ट्रिय खेलकुद नेपाल टेलिभिजनबाट हेर्न पाइने

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले मंगलबार हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल टेलिभिजनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन तथा विभिन्न खेलका सेमिफाईनल देखिका प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने छ भने ३६ वटै खेलको हाइलाईट्स र प्रोमो प्रशारण गर्ने सहमति भएको छ ।

सो अवसरमा सदस्य–सचिव घिसिङले लामो इतिहास बोकेको नेपाल टेलिभिजनसंग जोडिएर सहकार्य गर्न पाउँदा खुशी लागेको बताउदै कास्कीमा हुने खेललाई मात्र नभइ कास्की बहिरा हुने खेललाई पनि उत्तिनै प्राथमिकता दिएर नेपाल टेलिभिजनले गतिविधि प्रशारण गर्नेमा आफू विश्वस्त रहेको बताए । सदस्य–सचिव घिसिङले नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल उत्सवलाई संसारले नियाल्ने अवसर प्राप्त गरोस् भन्ने उद्देश्यले प्रत्यक्ष प्रशारण महत्वपूर्ण पाटो भएको धारणा व्यक्त गरे ।

कार्यकारी अध्यक्ष शाहले परिषद्ले बृहत खेलकुदको प्रत्यक्ष प्रशारणका लागि नेपाल टेलिभिजनलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै प्रतियोगिता सफल बनाउने प्रमुख दायित्व परिषद्को भए पनि नेपाल टेलिभिजनको पनि उत्तीकै जिम्मेवारी हुने बताएका छन् । राज्यकै कार्यक्रम भएकाले सम्पूर्ण क्षेत्रबाट सहयोग हुनु पर्नेमा शाहको जोड छ । राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close