
पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको १० किमि दौडको उपाधि नेपाली सेनाका मोहनदेव जोशी र नेपाली सेनाकी श्यामकली जैशीले जितेका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र वडा दशैंको अवसरमा आयोजित दौड प्रतियोगिताको पुरुषतर्फ मोहनदेवले ३५ मिनेट ३१.४ सेकेण्ड र महिलातर्फ श्यामकलीले ४६ मिनेट ५८.२ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । उनीहरुले जनही नगद २५ हजार हात पारेका छन् । त्यस्तै पुरुषतर्फ गोरखाका निराजन भट्टराईले ३६ मिनेट ०४.२ सेकेण्डमा दौड पुरा गरी दोस्रो, गोरखाकै नवराज गुरुङ ३६ मिनेट ५०.४ सेकेण्डमा दौड पुरा गरी तृतीय भए । उक्त दौडमा गोरखाका श्याम मगराती चौथो स्थानमा र पोखराका सरोज शर्मा पाँचौ स्थानमा रहन सफल भए ।
त्यसैगरी महिलातर्फको १० किलोमिटर दौडमा तनहुँकी नम्रता गुरुङले ४८ मिनेट ०७.५ सेकेण्डमा पुरा गर्दै दोस्रो नवलपुरकी डोलमाया महतोले ४९ मिनेट २१.१ सेकेण्डमा दौड पुरा गरी तेस्रो, पर्वतकी संगिता विक चौथो, स्याङजाकी चन्द्रकला बराल पाँचौ हुन सफ भए । १० किलोमिटर तर्फ पुरुष तथा महिला दोेश्रो देखि पाँचौ स्थान सम्मका दौड विजेताहरुले नगद १५, १०, ५ र ३ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र हात पारे ।
त्यस्तै विद्यालयस्तरीय छात्र ५ किलोमिटरतर्फ १६ मिनेट ४० सेकेण्डमा दौड पुरा गरी केफ एकेडेमीका विवेक परियार प्रथम भए सैनिक आवासिय विद्यालयका प्रवेश आचार्य १७ मिनेट ५१ सेकेण्डमा पुरा गरी दोस्रो, १८ मिनेट १६ सेकेण्डमा पुरा गर्दै सुमित सिग्देल तेस्रो हुन सफल भएका छन् ।
यता छात्रा ५ किलोमिटर दौडमा छोरेपाटन माविकी नारायण भण्डारीले २५ मिनेट १ सेकेण्डमा पुरा गर्दै प्रथम भईन् भने २५ मिनेट ५३.४० सेकेण्डमा दौड पुरा गरी एलपी देवकोटा स्कुलकी मेनुका अधिकारी दोस्रो, २७ मिनेट १६.६३ सेकेण्डमा पुरा गरी इन्द्रराज्य लक्ष्मी माविकी आइतीमाया गुरुङ तेस्रो हुन सफल भए । यसै गरी ज्ञानज्योति विद्याकुन्जकी पल्लवी नेपाली चौथो, सैनिककी जस्तिना गुरुङ पाँचौ बन्न सफल भए ।
विजेता छात्र तथा छात्रा धावकहरुले १५, १०, ५ , ३ र २ हजार नगदका साथमा मेडल र प्रमाणपत्र हात पारे । छैटौंदेखि १० औं स्थानसम्म आउने धावकहरुले जनही नगद १–१ हजार रुपैयाँबाट पुरस्कृत गरेको थियो ।
विजेता धावकहरुलाई पोखरा महानगरपालिका प्रमुख धनराज अचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, राखेप सदस्य राजेश कुमार गुरुङ, प्रखेप गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, पोखरा महानगर शिक्षा तथा खेलकुद महाशाखा प्रमुख हेमप्रसाद आचार्य, भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का लगायतले नगदसहित पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
