नवौं राष्ट्रियमा पोखरा महानगरका पदक विजेतालाई सम्मान गछौं–मेयर आचार्य

पोखरा स्पोर्टस । नवौं राष्टिय खेलकुद प्रतियोगितामा पोखरा महानगरका पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने मेयर धनराज आचार्यले घोषणा गरेका छन् ।

पाृेखरामा आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पोखरा महानगर र प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको एक छलफल कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै मेयर आचार्यले सवैलाई एकै शुत्रमा बाँध्ने खेलकुद रहेको बताउँदै भने–“हामी खेलाडीलाई सम्मान गर्ने विषयमा कुनै ढिलो वा कञ्जुसाई गर्दैनौं । नवौं सम्पन्न भएको भोली पल्टनै पोखरा महानगरका कुनै खेलाडीले पदक जिते नगद सहित सम्मान गर्नेछौं ।” उनले खेलाडीहरुलाई सम्मान गर्ने विषयलाई अन्य पालिकाहरुले समेत अघि बढाउनु पर्ने कुरामा जोड दिए ।

आफ्नै घर आङ्गनमा सञ्चालन हुने नपौं राष्ट्रिय खेलकुद सफल बनाउन कुनै कसर बाँकी नराखिने बताउँदै मेयर आचार्यले भने–“हाम्रो घर आङ्गनामा नवौं राष्ट्रिय हुँदैछ राम्रो हुँदा जस नराम्रो अपजस हामीले नै लिने हो । यसका लागि सबै एक जुट भएर पोखरा महानगरले आतिथ्यता प्रदान गर्नेछ । ”पोखरालाई सवैले पर्यटनको राजधानी भनेर चिनिने भएकोले पनि यहाँ आउने कुनै पनि वाह्य वा आन्तरिक पर्यटक ठगिनु नहुने तर्क अघि सार्दै मेयर आचार्यले नवौं राष्ट्रिय खेलकुद अगावै पोखराका सवै ट्याक्सीका मिटर जडान गरी सक्न महानगरले निर्देशन दिइसकेको बताए । “पोखरा आउने कुनै पनि पर्यटक यो वा त्यो बहानामा ठगिनु हुन्न चाहे होटलबाट होस् वा ट्याक्सीबाट । हामीले उहाँहरुलाई उत्कृष्ट आतिथ्यता प्रदान गर्नुपर्छ,” उनले भने ।

पोखराका हरेक टोलका आमा समुहहरु, टोल विकास संस्थाहरुलाई समेत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन परिचालित गरिने उनले उल्लेख गरे ।

बनाउनेतर्फ पोखरा महानगर आफू एक कार्यक्रमका लागि विदेश जानु पर्ने भएको प्रसङ्ग अघि सार्दै मेयर आचार्यले नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक समन्वय गर्न दुई सदस्यिय समितिको घोषणा समेत गरेका छन् । उनले नवौं सफल बनाउन विभागहरुलाई समेत परिचालित गरिने बताउँदै समन्वय गर्न पोखरा महानगर वडा नं १५ का अध्यक्ष तोरण बहादुर बाँनिया र वडा नं ३ का अध्यक्ष प्रकाश उदासलाई जिम्मेवारी दिएको बताए ।

पोखरा महानगरले पोखरा प्रवेश गर्ने मुख्य सडकहरुमा स्वागत द्वारहरु निर्माण गर्न आफूले निर्देशन दिइसकेको बताए ।

सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पोखरा महानगरको भूमिका महत्वपूर्ण हुने बताए । उनले पोखरा महानगर नवौं राष्ट्रिय खेलकुदको केन्द्र समेत रहेकोले खेलाडी लगायत पाहुनाहरुको आतिथ्यताका लागि महानगरको भूमिकाको अपेक्षा रहेको बताए । उनले असोज १ गतेबाट नै गण्डकी प्रदेशका खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भइसकेको बताउँदै ३६ र २ प्रर्दशनी खेल सहित गण्डकी प्रदेशले ३८ खेलमा सहभागिता जनाउने बताए ।

कार्यक्रममा पोखरा महानगरका वडा अध्यक्षहरु, पोखरा महानगर पालिका कार्यालयका विभागिय प्रमुखहरु, अग्रज खेलाडीहरु, परिषदका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close